यूएईमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा मृत्यु भएका नेपालीको पहिचान खुल्यो

हिमाल प्रेस १८ फागुन २०८२ १३:५७ | Monday, March 2, 2026
24
SHARES
यूएईमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा मृत्यु भएका नेपालीको पहिचान खुल्यो

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा एक नेपाली सुरक्षागार्डको मृत्यु  भएको छ। विमानस्थलमा इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा २९ वर्षीय नेपाली नागरिक दिवस श्रेष्ठको मृत्यु भएको हो।

गोरखा घर भएका श्रेष्ठ यूएईको ‘मिडल इस्ट कम्पनी’ मा सुरक्षागार्डको रूपमा कार्यरत थिए। यूएईको परराष्ट्र मन्त्रालयले श्रेष्ठको मृत्युबारे नेपाली राजदूतावासलाई आधिकारिक जानकारी गराएको हो।

घटनापछि नेपाली राजदूतावास अबुधाबीले एक शोक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेको छ। राजदूतावासले श्रेष्ठको पार्थिव शरीरलाई जतिसक्दो चाँडो नेपाल पठाउन पहल गरिरहेको बताएको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘परिस्थिति सहज भएपश्चात स्व.श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको व्यहोरा अनुरोध गरिन्छ।’

दूतावासले स्थानीय प्रशासनसँग समन्वय गरी कानुनी प्रक्रिया र शव व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको जनाएको छ।

पछिल्लो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ। दूतावासले अगाडि भनेको छ, ‘यस संवेदनशील परिस्थितिमा यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन तथा यूएई सरकारद्वारा जारी गरिएका सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्डहरू पूर्णरूपमा पालना गर्न समेत दूतावास हार्दिक अनुरोध गर्दछ।’

प्रकाशित: १८ फागुन २०८२ १३:५७ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast