कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासबाहिर तैनाथ अर्धसैनिक बलका सुरक्षाकर्मी। तस्बिर : एपी/रासस
काठमाडौँ- पाकिस्तानको बन्दरगाह सहर कराँचीमा आइतबार प्रदर्शनकारी र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। इरान समर्थक प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गर्न खोजेपछि यो स्थिति सिर्जना भएको अधिकारीहरूलाई उधृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ।
देशको उत्तरी भागमा पनि प्रदर्शनकारीहरूले संयुक्त राष्ट्रसंघ र सरकारी कार्यालयहरूमा आक्रमण गरेका छन्। अमेरिका र इजरायलले इरानमा आक्रमण गरी त्यहाँका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या गरेपछि यो हिंसा भड्किएको हो। कराँचीका प्रहरी र अस्पताल अधिकारीहरूका अनुसार झडपमा कम्तीमा २५ जना अन्य व्यक्ति पनि घाइते भएका छन्।
राष्ट्रपति आसिफ अली जरदारीले खामेनीको सहादतप्रति गहिरो दुःख व्यक्त गर्दै इरानलाई समवेदना प्रकट गरेका छन्। उनले भनेका छन्, ‘यो शोकको घडीमा पाकिस्तान इरानी जनताको साथमा छ र उनीहरूको क्षतिमा सहभागी छ।’
सहरको मुख्य सरकारी अस्पतालकी प्रहरी सर्जन सुम्मैया सैयद तारिकले ६ वटा शव र धेरै घाइतेलाई अस्पताल ल्याइएको पुष्टि गरे। उपचारका क्रममा थप चार जना गम्भीर घाइतेको मृत्यु भएपछि मृतकको संख्या १० पुगेको हो।
उत्तरी गिल्गित-बाल्टिस्तान क्षेत्रमा इरानमाथि भएको अमेरिकी र इजरायली हमलाबाट आक्रोशित हजारौं सिया प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र सैन्य पर्यवेक्षक समूह र संयुक्त राष्ट्र विकास कार्यक्रमको कार्यालयमा आक्रमण गरेका छन्। सरकारी प्रवक्ता सब्बिर मिरका अनुसार ती संस्थामा कार्यरत सबै कर्मचारी सुरक्षित छन्।
पाकिस्तानस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कराँची र लाहोरस्थित अमेरिकी वाणिज्य दूतावासहरूमा भइरहेको प्रदर्शनको निगरानी गरिरहेको जनाएको छ। साथै इस्लामाबादस्थित दूतावास र पेसावरस्थित वाणिज्य दूतावासमा पनि थप प्रदर्शनका लागि आह्वान गरिएको बारे दूतावास सतर्क रहेको अधिकारीहरूले बताएका छन्।
दूतावासले पाकिस्तानमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार नियाल्न, आफ्नो वरपरको वातावरणप्रति सचेत रहन, ठूलो भीडभाडबाट बच्न र अमेरिकी सरकारसँगको आफ्नो यात्रा दर्ता अद्यावधिक राख्न सल्लाह दिएको छ।





