मधेशमा कांग्रेसको लहर छ : महेन्द्र यादव [अन्तरवार्ता]

हिमाल प्रेस १७ फागुन २०८२ २१:३२ | Sunday, March 1, 2026
18
SHARES
मधेशमा कांग्रेसको लहर छ : महेन्द्र यादव [अन्तरवार्ता]

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादव लगातार दुईपटक धनुषा क्षेत्र नम्बर ४ बाट पराजित भए। दुवैपटक उनलाई नेकपा एमालेका सचिव रघुवीर महासेठले पराजित गरे। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस नेता यादव फेरि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्। यसपालि पनि उनीसँग चुनाव लडिरहेका छन् एमाले सचिव महासेठ। साथै प्रतिस्पर्धामा रास्वपा पनि थपिएको छ। मधेशमा देखिएको रास्वपा लहर र चुनावको तयारीलगायतका विषयमा कांग्रेस नेता यादवसँग हिमालप्रेसले गरेको कुराकानी :

चुनावको माहोल कस्तो पाउनुभएको छ?

चुनाव प्रचारप्र्रसार अन्त्यतिर पुगेको छ। जनताको रेस्पोन्स राम्रो छ। नेपाली कांग्रेसप्रति जनताको झुकाव देखिएको छ। नेपाली कांग्रेस जित्नुपर्छ र जिताउँछौँ भन्ने बहुसंख्यक जनताको सोच छ। म दुईपटक चुनाव हारेर पनि निरन्तर यहाँका जनताको बीचमा रहेर काम गरेकाले उहाँहरूको राम्रो सद्भाव रहेको पाएको छु।

धेरैले प्रश्न गरिरहेका छन्, कांग्रेसलाई किन मत दिने भनेर, के भन्नुहुन्छ?

नेपाली कांग्रेसलाई मत दिनुपर्ने धेरै कारणहरूमध्ये एउटा के हो भने  संघीय लोकतान्तिक गणतान्त्रिक संविधान बचाउनु छ, संघीयता बचाउनु छ, समावेशिता बचाउनु छ र जनताले प्रश्न सोध्ने अधिकार जुन प्रजातन्त्रमा छ अहिलेको संक्रमणका समयमा कांग्रेसले नै पार लगाउनसक्छ। अहिलेको संकटबाट पार लगाउने कांग्रेसमात्रै हो। विगतमा माओवादी जनयुद्ध भयो, त्यो संकटबाट कांग्रेसले नै नेपाली जनतालाई छुटकारा दिलायो। जनताको चाहनाअनुसार संविधान जारी गर्ने कामको नेतृत्व पनि कांग्रेसले गर्‍यो। २०४६ सालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व पनि कांग्रेसले गरेको हो। मुलुक अप्ठ्यारोमा परेका बेला कांग्रेसले नै निर्णायक भूमिका वहन गरेको छ। यसकारण जनताले मत दिनुहुन्छ।

नेपाली कांग्रेस सत्तामा छँदै भएको जेनजी प्रदर्शन ठूलो क्षति भयो भन्ने आरोप तपाईँहरूमाथि छ नि?

वास्तवमा हेर्ने हो भने त्यो बेला सरकारको नेतृत्व हाम्रो थिएन। हामी सरकारमा सहभागी दलमात्रै थियौँ। सहभागी दलको हैसियतमा हामीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाउन भनेर प्रधानमन्त्रीज्यूलाई भनेका थियौँ। तर त्यति बेलाका प्रधानमन्त्री केपी ओलीले मान्नु भएन। त्यसपछि पहिलो दिनको घटनामा गोली चलेपछि हाम्रो पार्टीबाट सहभागी गृहमन्त्रीले राजीनामा पनि दिनुभयो। यी घटनामा हाम्रो दलको पूर्णजिम्मेवारी छैन। किनभने हरेक संस्था नेतृत्वले हाँकेको हुन्छ र नेतृत्व हाम्रो थिएन। यद्यपि केही दोष हामीमाथि लाग्नसक्छ। हामीले संविधान संशोधन र देशमा स्थिरताका लागि मात्रै गठबन्धन गरेका थियौँ, जुन कुरा देखिएन।

त्यो घटनाले अहिलेको चुनावमा कांग्रेसलाई असर गरेको छ कि छैन?

छैन, नेपाली जनतालाई सबै यथार्थ राम्ररी बुझेका छन्। म भोट माग्ने क्रममा र देशभरका समाचार बुझ्दा नेपाली कांग्रेसलाई जिम्मेवार ठहराइएको छैन। जुन दलको नेतृत्व थियो त्यो दल र त्यसको नेतालाई जनताले राम्रो ठानेको छैन। उनीहरूप्रति निगेटिभ छ। तर नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जनताले राम्रै सम्बोधन गरिरहेका छन्। झन् हाम्रो पार्टीको नेतृत्व फेरिएर आएपछि कांग्रेसप्रति जनताको आशा पलाएको छ। नेपाली कांग्रेस बदलिएर आएपछि जनता र मतदाताको भरोसा देखिएको छ।

विशेष महाधिवेशनलगत्तै चुनावमा होमिएको कांग्रेसप्रति मतदाताको झुकाव कस्तो देख्नुभएको छ?

नेपाली कांग्रेसको नयाँ सभापति आउनुभएको छ। उहाँले पार्टीलाई अगाडि बढाइरहनुभएको छ। उहाँले प्रतिज्ञापत्र पनि सार्वजनिक गर्नुभएको छ, उहाँप्रति नागरिकको भरोसा देखिएको छ।

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकखाले लहर देखिएको छ नि!

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको जुन लहरलाई फागुन ६ गते भएको हाम्रो आमसभाले अन्त्य पारिदिएको छ। मधेशभर नेपाली कांग्रेसको मात्रै लहर चलेको छ। मधेशमा नेपाली कांग्रेसको पुरानो साख कायम भएको छ। मधेशीहरूको नेपाली कांग्रेसप्रति विश्वास बढेको छ। मधेशमा हाम्रो पुरानो संगठन कायम भएको छ।

मधेश प्रदेशको ३२ मध्ये कति सिट नेपाली कांग्रेसले जित्छ?

मधेशमा कांग्रेसले अरू दलहरूभन्दा बढी सिट जित्छ। बहुमतभन्दा बढी सिट हामी जित्छौँ।

नेपाली कांग्रेसको पुरानो रोग अन्तर्घातको जोखिम कति हेर्नुभएको छ?

यसपालि अन्तर्घातको रोग देखिएको छैन, हुनेवाला पनि छैन। कार्यकर्ताहरू सचेत भइसकेको छ। अन्तर्घात भएर पार्टीलाई क्षति भएको सबैले अनुभव गरिसकेका छन्। जुनसुकै गुटको भए पनि कांग्रेस उम्मेदवारलाई जिताउन पार्टी एकढिक्का भएर अगाडि बढेका छन्।

कसरी एक ढिक्का भयो चेत खुलेर कि नेतृत्व परिवर्तन भएर?

चेत पनि खुल्यो र नेतृत्व परिवर्तन पनि भयो। नयाँ नेतृत्वले उत्साह जगाएको छ र अन्तर्घात गरेर गल्ती भयो भन्ने चेत पनि खुलेको छ। कांग्रेसले राम्रो परिणाम ल्याउनेमा हामी ढुक्क छौँ।

धनुषा क्षेत्र नम्बर ४ मा रघुवीर महासेठले तपाईँलाई पराजित गर्नुभयो। यसपालि तपाईँले आफ्नो निकटतम प्रतिद्वन्द्वी कसलाई ठान्नुभएको छ?

यस क्षेत्रमा नेपाली कांग्रेस एक नम्बरमा छ। अहिलेसम्म हाम्रो निकटतम प्रतिद्वन्द्वीका लागि दुई तीनवटा पार्टीबीच लडाइँ छ। त्यसैले कुन हुन्छ स्पष्ट भइसकेको छैन। तर कांग्रेस पहिलो स्थानमा छ।

तपाईँको चुनावी एजेन्डा के हो?

संविधान निर्माण, प्रजातन्त्रको स्थापना, संघीयता, समावेशीतालगायत जनताको अधिकारका लागि मैले निरन्तर संघर्ष गरेको छु। संविधान निर्माणयता भएका दुईवटा चुनावमा पराजित भएँ। तर पनि म निरन्तर जनताको बीचमा रहेर काम गरेँ। त्यसैले जनताले महेन्द्र यादव यस क्षेत्रमा चाहिन्छ भनेर भन्ने गरेका छन्। यसपालि तपाईँलाई जिताउँछु भनेर जनताले नै भनिरहेका छन्। अर्को कुरा पहिला आफ्नै पार्टी निमलेको कारण पनि क्षति भएको थियो। अहिले कांग्रेस एकढिक्का छ। त्यसैले यस क्षेत्रमा कांग्रेसको जित सुनिश्चित छ।

यो क्षेत्रका समस्या के पाउनुभएको छ र निर्वाचित भएर त्यसलाई कसरी समाधान गर्नुहुन्छ?

यो क्षेत्रमा खानेपानीको समस्या छ। युवाहरू बेरोजगार छन्। यहाँ औद्योगिक करिडर बनाउने प्रबल सम्भावना छ। बाटोघाटो, राम्रो अस्पताल, राम्रो शैक्षिक संस्था बनाउन सकिन्छ, सरकारी स्तरमै गर्न सकिन्छ। सिँचाइको ठूलो समस्या छ। यसअघिका सांसदहरूले केही गर्न सक्नु भएन। बरु मैले नै सिँचाइका लागि आफ्नो पहलबाट डिप बोरिङका माध्यमबाट सिँचाइको व्यवस्था गर्न लगाएका छौँ। खानेपानीको समस्या समाधानका लागि ओभरहेड ट्यांकीहरू बनाउन लगाएका छौँ।

प्रकाशित: १७ फागुन २०८२ २१:३२ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast