नवलपरासी- नेपाली कांग्रेसबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टीभित्रै विद्रोह गर्नु निकै चुनौतीको अवस्था रहेको बताएका छन्। विगत ३० वर्षको अवधिमा ३६ वटा सरकार बने पनि अस्थिर सरकारले जनतालाई न्याय दिन नसकेको उनले बताएका हुन्।
चुनाव प्रचारप्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोणसभामा बोल्दै अस्थिर सरकारका कारण नागरिकको निराशा जेनजी आन्दोलनमा परिणत भएको बताए। आज लाखौँ युवा बिदेसिनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउदै उनले यहीँ नै लघु उद्यमको विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए।
‘हरेक युवालाई सपना देख्ने अधिकार छ, स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ, त्यो वातावरण हामी बनाउँछौँ, बदलिएको कांग्रेसले बनाउँछ,’ उनले भने।देशमा देखिएका विद्यमान सबै समस्याको हल गर्नका लागि नै कांग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनले बताए।
पछिल्लो समय आफ्नाबारे समाजमा भ्रम छर्ने र नकारात्मक हल्लाहरू फिँजाइ विचलित पार्ने प्रयासहरू भइरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफूसँग जोडिन सक्ने, प्रश्न गर्न सक्ने वातावरण आफूले बनाएको चौधरीले बताए। मतदाताहरूलाई नकारात्मक हल्लाको पछाडि नलाग्न समेत उनले आग्रह गरे।
केराको चिप्स उद्योगको विषयलाई लिएर राजनीतिक रूपमा रोटी सेक्न खोजिएको बताउँदै उनले निकट भविष्यमै उद्योग स्थापना हुने दाबी गरे। ‘जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छु र विदेशमा समेत उद्योग कलकारखाना खोल्ने उद्योगीले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ, रोजगारी दिन्छ, ढुक्क हुनुस्,’ उनले भने।





