बुटवल- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि पनि निषेधको राजनीति गरिए मुलुक अर्को दुर्घटनामा जाने बताएका छन्। नेपाली कांग्रेस रुपन्देहीले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले सबैलाई लिएर जाने तागत कांग्रेससँग मात्रै रहेको बताएका हुन्। ‘म असल बाँकी खराब भन्ने मनोवृत्तिले देश फेरि द्वन्द्वमा जान्छ,’ उनले भने।
थापाले कांग्रेसको नेतृत्वमा अबको ५ वर्षमा देशले गति लिने दाबी समेत गरे। उनले गाडीलाई दुर्घटनामा नपारी गन्तव्यमा पुर्याउने समेत बताए। ‘देश बनाउन एक्लै होइन, एमाले पनि चाहिन्छ, माओवादी पनि चाहिन्छ, रास्वपा पनि चाहिन्छ’, थापाले भने,‘हामी सबैलाई एउटै गाडीमा लिएर जान्छौं, देश बनाउँछौं।’
उनले आफूहरूले ७ वर्ष दिनरात प्रजेक्ट गर्भमेन्ट भनेर काम गरेको बताउँदै बल्ल देश बनाउने नेतृत्वमा आइपुगेको बताए। ‘किसानले मल पाउनेदेखि पहाडमा बाँदर लखेट्नेसम्मको योजना बनाएका छौं’ सभापति थापाले भने,‘अब तपाईँहरू घरघरमा पुगेर भोट माग्नुस्, नौजवानसँग हात जोडेर पुग्नुस् र देश हामी बनाउँछौं भन्नुस्’ उनले भने।
थापाले महाधिवेशनबाट आफूहरूले विगतमा भएका खराब कुरा छाड्ने संकल्प गरेको समेत बताए। उनले समस्याहरूलाई एउटै कोणबाट मात्रै हेर्न नहुने बताए।
थापाले लुम्बिनीका पहाडी क्षेत्रहरूमा बाटाहरू बनेको भएपनि मानिसहरू रिँतिदै गएको बताए। ‘बुटवल सहरलाई पहाडको अर्थतन्त्रसँग जोड्नुपर्छ, पहाडका जमिन बाँझो रहेको विषयमा हाम्रो ध्यान पुगेको छ’, उनले भने।
थापाले प्रत्येक समस्याको कारण व्यक्तिलाई मात्रै नठान्न समेत आग्रह गरे। उनले उत्तेजनाको राजनीतिमा नबहकिन समेत कार्यकर्तालाई अनुरोध गरे।
सभापति थापाले मोबाइको भ्रममा नपर्न आग्रह गर्दै भने,‘सडक समयमा बनेको छैन, ४१ वटा कानुन बदल्नुपर्छ तर अर्को साथी सडक नबनाउनेलाई झुन्ड्याउँछु भन्नुहुन्छ। त्यसरी विकास हुँदैन।’
सभामा कांग्रेसबाट रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, पार्टीका उपसभापति पुष्पा भुसाल, नेता बालकृष्ण खाणलगायतको उपस्थिति रहेको थियो।





