काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले साेमबार हुने होली पर्वलाई मर्यादित बनाउन सार्वजनिक स्थलमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा र आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले यो कडा कदम चालेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचना अनुसार होली मनाउने बहानामा निर्वाचन आचारसंहिता विपरीतका राजनीतिक प्रचारप्रसारका गतिविधिहरू हुन सक्ने भन्दै विशेष निगरानी बढाइएको छ।
प्रशासनले निर्वाचन आचारसंहिताको हवाला दिँदै होली पर्वको समयमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न वा तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा, टोपी, मास्क वा लकेट लगाउन र प्रयोग गर्न पूर्ण रोक लगाएको छ।
सार्वजनिक स्थानमा भेला भई भीड जम्मा गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रमहरू सञ्चालन गर्ने र निर्वाचन प्रचारप्रसारको झल्को दिने गरी उच्छृङ्खल गतिविधि गर्न पाइने छैन। यस्ता गतिविधिले शान्ति सुरक्षामा खलल पुर्याउने र निर्वाचनको निष्पक्षतामा असर पार्ने प्रशासनको ठहर छ।
यसैगरी, होली पर्व मनाउने नाममा कसैको इच्छा विपरीत रङ दल्ने, पानीको फोहोरा हान्ने, लोला प्रहार गर्ने र मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा भंग गर्ने कार्य नगर्न पनि सचेत गराइएको छ।
प्रशासनले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार हनन नहुने गरी आआफ्नो घर वा कम्पाउन्डभित्र परिवार र आफन्तजनसँग मात्र पर्व मनाउन आग्रह गरेको छ।






