ललितपुरमा प्रलोपाका तीन उम्मेदवार : कसको कस्ता एजेन्डा?

हिमाल प्रेस १५ फागुन २०८२ ११:२५ | Friday, February 27, 2026
70
SHARES
ललितपुरमा प्रलोपाका तीन उम्मेदवार :  कसको कस्ता एजेन्डा?

काठमाडौँ- ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा यतिबेला चुनावी सरगर्मी बढेको छ। घरदैलो, टोलभेला र प्रत्यक्ष संवादमार्फत मतदाता भेट्न व्यस्त छन् कृष्ण महर्जन, विष्णुराज खड्का र रोहित बास्तोला। परिवर्तन, सुशासन र रोजगारीको एजेन्डा बोकेर उनीहरू मैदानमा छन्।

तीनै जना प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार हुन्। उनीहरू आ-आफ्नो पृष्ठभूमि, अनुभव र प्राथमिकताका आधारमा मतदातामाझ फरक शैलीमा प्रस्तुत भइरहेका छन्।

ललितपुर-२ का उम्मेदवार कृष्ण महर्जन यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चिनिएका छन्। इलेक्ट्रोनिक्स इन्जिनियर महर्जनले करिब १७ वर्षअघि सामाजिक अभियानबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।

नेवार समुदायको बाहुल्यता रहेको क्षेत्रमा उनले युवा, सूचना प्रविधि, रोजगारी सिर्जना र सांस्कृतिक सम्पदा संरक्षणलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्।

संसद् पुगेपछि डिजिटल प्रशासन, आइटी क्षेत्र विस्तार तथा विशेष क्षमता भएका व्यक्तिहरूका अधिकार सुनिश्चितताका लागि कानुनी पहल गर्ने उनको प्रतिबद्धता छ।

ललितपुर-३ निर्वाचन क्षेत्रमा उम्मेदवार विष्णुराज खड्का पूर्वाधार विकास र बागमती सुधारका मुद्दासहित मतदातामाझ पुगेका छन्।

२०५२ सालदेखि राजनीतिक रूपमा सक्रिय खड्काले ललितपुर क्षेत्रमा ट्राफिक व्यवस्थापन र सामाजिक अभियानमा काम गरेको अनुभव सुनाउँदै आएका छन्।

बागमती कोरिडोरको पुनर्निर्माण, नदी व्यवस्थापन, खेलकुद पूर्वाधार विकास र युवा लक्षित गतिविधि विस्तारलाई उनले प्राथमिकतामा राखेका छन्।

स्थानीय तहदेखि प्रदेश र संघसम्म समन्वय गरेर दीर्घकालीन योजना कार्यान्वयन गर्ने उनको दाबी छ।

ललितपुर-१ का उम्मेदवार रोहित बास्तोलाको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएको हो। अर्थशास्त्रमा स्नातकोत्तर बास्तोलाले विभिन्न वाम राजनीतिक धार हुँदै वैचारिक मतभेदका कारण अलगिएर प्रलोपा गठन प्रक्रियामा सक्रिय भूमिका खेले।

उनले समानतामूलक नीति तथा कानुन निर्माण, पारदर्शी शासन, श्रमजीवी वर्गमैत्री कार्यक्रम, प्रत्यक्ष लोकतन्त्र र रैथाने सीप ज्ञान संरक्षणलाई चुनावी मुद्दा बनाएका छन्। राज्य संरचना जनमुखी र उत्तरदायी हुनुपर्ने उनको धारणा छ।

तीनै उम्मेदवार अहिले घरदैलो अभियानमा व्यस्त छन्। एउटै पार्टीबाट भए पनि उनीहरू फरक-फरक मुद्दा र प्राथमिकतासहित मतदातामाझ उभिएका छन्।

प्रकाशित: १५ फागुन २०८२ ११:२५ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast