सुर्खेतमा गगन थापाले गरे ‘स्वर्णिम पाँच वर्ष’ को प्रतिबद्धता

हिमाल प्रेस १४ फागुन २०८२ १६:१५ | Thursday, February 26, 2026
6
SHARES
सुर्खेतमा गगन थापाले गरे ‘स्वर्णिम पाँच वर्ष’ को प्रतिबद्धता

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन्। कांग्रेस कर्णाली प्रदेशस्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरेका हुन्।

सभालाई सम्बोधन गर्दै थापाले भने,‘विगत पाँच ६ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो। यसले तन्नेरीलाई रुष्ट बनायो। देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ दूषित बनायो। अब ०८२ देखि ०८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ। यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ। हामीलाई नेपालको सीमितता थाहा छ। हामी यसलाई सुधार्छौँ। प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ। पाँच वर्ष भनेर कुरेर बस्दैनौँ। बैशाख १ गते आउँछ र एक महिनामा यो काम गर्यौं भन्छ कांग्रेसले। जेठ १ गते आउँछ र एक महिनामा यी काम गर्यौँ भन्छौँ।’

 थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताए। तर कोही पनि यसका लागि तयार नभएको भन्दै उनले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने बताए।

उनले भने,‘आओस् एमाले, आओस् नेपाली कम्युनिस्ट पार्टी र आओस् रास्वपा एउटै मञ्चमा बसेर योजना बनाउँ भन्दा कोही नआउने। हिजो कर्णालीमा माओवादीले मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर मस्ती मारिरहेकाहरू आज यहाँ आएर पाँच वर्षमा केही गर्छु भनेर नाटक गर्नेहरूलाई कर्णालीबासीले नपत्याओस्।’

सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए। उनले सम्बोधनका क्रममा भने,‘सरकारको गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदैन। कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए।

विदेशमा भएकाहरूलाई सम्बोधन गर्दैै थापाले भने,‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरूको छानबिन गर्दै गर्दा मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन। पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन।’

उनले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गरेका छन्। उनले मतदातालाई आग्रह गर्दै भने,‘यो पाँच वर्षलाई परीक्षण नगरौँ। हामी काम गरेर देखाउने हो। कर्णालीका बारेमा सबै राम्रा भन्न सकिन्छ तर प्रश्नसँगसँगै देशभर १७ प्रतिशत हुँदै गर्दा करिब ४० प्रतिशत गरिबी बोकेर कर्णाली किन बसिरहेको छ? देशभपरिका बालबालिका बचाउँदा कर्णालीका किन बनाउन सकिएन? समस्याको जरासम्म पुग्नुपर्छ।’

उनले कर्णाली र काठमाडौँ महानगरपालिकाको कुनै तुलनासमेत हुन नसक्ने बताए। उनले भने,‘कर्णालीको आय वार्षिक ५२ करोड छ। काठमाठौँमा त १० अर्ब छ। सुतीसुती मेयरले १० अर्ब खर्च गर्न पाउँछ। प्रदेश सरकारले सबैभन्दा बढी कर यातायात, सडकबाट पाउँछ। यहाँ त यातायात र सडक नै कम छ।’

सभापति थापाले अगाडि भने,‘कर्णालीको विकासको पहिलो मुद्दा संविधान पनि बदल, कानुन पनि बदल। काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ। म संविधान र कानुन बदलाब गरौँ भनेर भन्छु। तर बनाउन कति दुःख छ। कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन। पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ। अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न।’

उनले सूचनाको अवसरमा पनि कर्णाली पछि पर्ने बताए। उनले तीतो सत्य अगाडि सार्दै भने,‘त्यो सूचनाको उद्योगमा काम गर्न विज्ञान, अंग्रेजी र गणित राम्रो हुनुपर्छ। त्यसका लागि आमाको स्वास्थ्य राम्रो हुनुपर्छ। आमाको काखमा हुँदासम्म ५ वर्षमै विज्ञान, अंग्रेजी र गणितको अवस्था बच्चाले बुझेको हुन्छ। काठमाडौँलेमात्र लाभ लिने हुन्छ। त्यसैले प्रतिस्पर्धाका लागि कर्णालीकी आमा र पोषणमा काम गर्नुपर्छ।’

सभापति थापाले कर्णालीको खर्च बाँदरले दिएको दुःखमा भएको उल्लेख गर्दै उनले भने,‘विकास बहुआयामिक छ। यहाँ हल्ला छ। को कसरी हात हल्लाउँदै छ यसको चर्चा छ।’

उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे। सभापति थापाले भने,‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ। आएको हैन माओवादी? खै के भयो? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने? नेपाली कांग्रेस यही देशको पार्टी हो। हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ। देश पनि बदल्छौँ। पाँच वर्षमा देशलाई दुर्घटनामा जान दिन्नौँ । यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन। अर्को शक्ति आक्रोश छ आगो छ। हामी पेटको आगो पनि भर्नुपर्नेछ।’

सुर्खेतको मैदानमा बोल्दै सभापति थापाले उपस्थित समुदायतिर हेर्दै भने,‘यो उत्साह यो चौरीमा भएर हुँदैन। सबै साथीहरू गाउँ जानुस्। आफ्नो घरमा होइन मतदाताको घरमा पुग्नुस्। कांग्रेसको सन्देश दिलएर पुग्नुस्। पाँच वर्षलाई खेर जान दिन हुन्न भन्नुस्।’

सो सभामा नेपाली कम्युनिस्ट पार्टीबाट धनलाल गुरुङ, भोजराज मल्ल, बलराम रावल र नारायण बस्नेतसहित ८० जना कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई सभापति थापाले पार्टीमा स्वागत गरे।

प्रकाशित: १४ फागुन २०८२ १६:१५ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast