फाइल तस्बिर
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै आम मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
रासससँग कुराकानी गर्दै उनले सरकारको मुख्य प्राथमिकता र एजेन्डा नै समयमै निर्वाचन सम्पन्न गर्नु रहेको र निर्वाचन आयोगले तयारीका करिब सबै काम सकिसकेको जानकारी दिए।
अब २१ गते मतदान गर्ने प्रक्रियागत काम मात्र बाँकी रहेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई अत्यन्तै मजबुत बनाइएको दाबी गरे।
एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू परिचालन भइसकेका छन् भने केन्द्रदेखि जिल्ला तहसम्मका कमान्ड पोष्टहरूले सुरक्षा चुनौतीको निरन्तर विश्लेषण गरिरहेको उनले बताए।
मुलुकका केही भागमा देखिएका छिटपुट झडपका घटनाले निर्वाचनलाई कुनै असर नगर्ने स्पष्ट पार्दै गृहमन्त्री अर्यालले ती घटनाहरू गृह प्रशासनको नियन्त्रणभित्रै रहेको बताए।
उनका अनुसार सरकारले सम्भावित घटनाहरूलाई प्रकट हुनुभन्दा अगाडि नै रोक्ने र प्रकट भइसकेपछि पनि संवादमार्फत समाधान गर्ने रणनीति अख्तियार गरेको छ।
यसैगरी, गत भदौको ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दी र लुटिएका हतियारहरू अब सुरक्षा चुनौतीका रूपमा नरहेको उनले प्रस्ट पारे।
अधिकांश हतियार र कैदीबन्दी फिर्ता भइसकेको र बाँकी रहेकाहरूबाट पनि कुनै आपराधिक गतिविधि नभएको सूचना आएकाले असुरक्षाको कुनै भय नरहेको उनको भनाइ छ।





