दल त्याग्ने नेताहरूको रोजाइ बन्यो कांग्रेस

हिमाल प्रेस १२ फागुन २०८२ १०:३८ | Tuesday, February 24, 2026
14
SHARES
दल त्याग्ने नेताहरूको रोजाइ बन्यो कांग्रेस

काठमाडौँ- चुनाव नजिकिँदै जाँदा विभिन्न दलका नेताकार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जेनजी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेस प्रवेश गर्नेहरू बढेका हुन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार थापाले नेतृत्व सम्हालेपछि करिब ६ हजारभन्दा बढी सदस्य थपिएका छन् जसमध्ये झन्डै १०० जना केन्द्रीय तहकै नेता रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढी नेताहरू कांग्रेसमा प्रवेश गरेका छन्। मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली, संघीय सभापति निराजन बर्तौला र युवा नेता राममणि न्यौपाने रास्वपा छाडेर कांग्रेस फर्किएका छन्।

पराजुली २०७९ को निर्वाचनमा मकवानपुर-२ बाट उम्मेदवार हुँदा १२ हजारभन्दा बढी मत ल्याएका थिए। उनले रास्वपामा आन्तरिक लोकतन्त्र कमजोर रहेको आरोप लगाउँदै सुधारिएको कांग्रेस रोजेको बताएका छन्।

त्यस्तै, नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा रसुवाका जिल्ला अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेताकार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।

एमालेका पूर्वमन्त्री रामवीर मानन्धरले पनि कांग्रेस रोजेका छन्। उनीहरूले एमालेमा व्यक्तिवाद हाबी भएको र योगदानको अवमूल्यन भएको आरोप लगाएका छन्।

उता रास्वपाकी मधेश प्रदेश संस्थापक सभापति ममता शर्मा र केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय शमशेर राणा पनि कांग्रेसमा आबद्ध भएका छन्।

शर्माले पार्टी निर्णयहरू विधानविपरीत र आर्थिक अनियमितताबाट प्रेरित भएको आरोप लगाउँदै कांग्रेस रोजेको बताएकी छन्।

निर्वाचनको मुखमा विभिन्न दलका प्रभावशाली नेताहरू कांग्रेस प्रवेश गर्न थालेपछि अन्य दलहरूलाई चुनावी समीकरणमा दबाब परेको विश्लेषण गरिएको छ।

प्रकाशित: १२ फागुन २०८२ १०:३८ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast