महोत्तरीको कञ्चनवनमा खेलियो होली, मिथिलामा विधिवत् सुरुवात

हिमाल प्रेस ११ फागुन २०८२ १७:२२ | Monday, February 23, 2026
2
SHARE
महोत्तरीको कञ्चनवनमा खेलियो होली, मिथिलामा विधिवत् सुरुवात

जनकपुरधाम- ‘किनकाके हाथ कनक पिचकारी, किनकाके हाथ अबिर झोली’ मिथिलामा भगवान् राम होली खेलिरहेका छन्, पिचकारी र अबिर क-कसको हातमा छ। यस्तै धार्मिक तर होलीको लोक भाकामा सोमबार महोत्तरीको कञ्चनवनमा गीत संगीत बजिरहेका थिए।

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी नेपाल-भारतका तीर्थालुहरू होलीका लोक गीतहरूमा नाचगान गरेर झुमिरहेका थिए।

जनकपुरधामबाट सुरु भएको १५ दिने धार्मिक यात्राको आठौँ विश्रामस्थल कञ्चनवन हो। मिथिला मध्यमा परिक्रमा यहाँ पुगेपछि होली खेल्ने पुरानो परम्परा रहेको छ।

महोत्तरीकै ध्रुवकुण्डमा आइतबार बास बसेर कञ्चनवन पुगेका परिक्रमाका साधुसन्त, सर्वसाधारण तीर्थालुहरूका अनुहार र कपडा विभिन्न रंगले रंगिएको थियो।

परिक्रमाका सहभागीहरू कञ्चनवन पुग्नुअगावै होलीको तयारी पूरा भइसकेको हुन्छ। परिक्रमाका सहभागीहरू यहाँ पुगेलगत्तै एकअर्कालाई रंग अबिर लगाएर होली खेल्न सुरु हुन्छ।

मैथिली लोकभाकाका होलीका गीतहरूमा नाचगान गरिरहेका परिक्रमाका सहभागीहरूमा एक सातादेखिको पैदलयात्राका कारण हुने थकाईको छनकसमेत थिएन।

जनकपुरधामस्थि अग्निकुण्डका महन्त नवलकिशोर दास त्रेता युगमा भगवान रामले कञ्चनवनमा होली खेलेको मान्यता रहेको बताउँछन्। यही मान्यताअनुसार कञ्चनवन पुगेपछि मिथिला मध्यमा परिक्रमाका सहभागीहरू यहाँ होली खेल्ने गरेको उनको भनाइ छ।

परिक्रमाका सहभागीहरूले कञ्चनवनमा होली खेलेकै दिनदेखि मिथिलामा होलीको औपचारिक रूपमा आरम्भ हुने गरेको छ।

धनुषास्थित कचुरी मठको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरधामको अग्नी कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरधामबाट सुरु भएको परिक्रमाका तीर्थालुहरू भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्ने गर्दछन्।

मिथिला मध्यमा परिक्रमा १८ औँ शताब्दीदेखि मनाइने गरिएको अग्निकुण्डका महन्त नवलकिशोर शरण बताउँछन्। नेपाल तथा भारतकै सबैभन्दा लामो दूरीको धार्मिक यात्रा रहे पनि यसको प्रवर्द्धन एवं प्रचार प्रसारमा राज्यले चासो नदेखाएको उनको भनाइ छ।

यस धार्मिक यात्राका सहभागीहरू १५ दिन रात्रि भजन किर्तन गरेर बिताउने गर्दछन्। नेपाल तथा भारतको विभित्र धार्मिक पडावहरूमा पुग्दै फागु पूर्णिमाको दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पत्र हुने छ।

अन्तरगृह परिक्रमाको भोलिपल्ट जनकपुरधाम क्षेत्रमा होली मनाउने परम्परा रहेको छ। मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौँ तिर्थालु सहभागी छन्।

नेपाल र भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको यस धार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्राम स्थल रहेका छन्।

मिथिला मध्यमा परिक्रमामा सहभागी तीर्थालुहरू नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा हिँडेर पूरा गर्ने गरेका छन्।

प्रकाशित: ११ फागुन २०८२ १७:२२ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast