काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचनमा विशेष चर्चामा रहेको काठमाडौँ क्षेत्र नम्बर १ मा प्रमुख दलका उम्मेदवारहरू आ-आफ्नो चुनावी एजेण्डाका साथ मत माग्न व्यस्त देखिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको प्रभाव रहँदै आएको यस क्षेत्रमा चारपटक सांसद निर्वाचित भइसकेका नेता प्रकाशमान सिंह यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिर छन्।
काठमाडौँ क्षेत्र नम्बर १ मा कांग्रेसले प्रबल थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा एमालेबाट मोहनराज रेग्मी, नेकपाबाट मेनुका भण्डारी, रास्वपाबाट रञ्जु दर्शना, राप्रपाबाट रविन्द्र मिश्रलगायत चुनावी प्रतिस्पर्धामा छन्। प्रतिपर्स्धीहरूले जनताका मुद्दाहरूलाई संसद्मा लगेर उजार गर्ने प्रतिबद्धता जनाएका छन्।
चुनावी प्रचारप्रचारका क्रममा काठमाडौँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीले कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे। काठमाडौँ क्षेत्र नम्बर १ का साथै समग्र देशको समस्या समाधानका लागि आफूले संसद्बाट आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
नेकपा उम्मेदवार मेनुका भण्डारीले जनताका मुद्दाका साथै सडकका आवाजहरूलाई सदनमार्फत् खबरदारी गर्ने र नागरिकका समस्याहरू समाधानको कोसिस गर्ने बताइन्। पार्किङ, सुकमवासीलगायतका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने उनको भनाइ छ।
त्यस्तै एमाले उम्मेदवार मोहनराज रेग्मीले जनताहरूको उत्साहपूर्ण साथ प्राप्त भएको र यस पटक जनताले विश्वास गर्ने दाबी गरे। उनले जनताको समस्या बुझ्ने काम भएको र आफ्नो एजेण्डा बुझाउने काम भएको उल्लेख गरे।
रास्वपा उम्मेदवार रञ्जु दर्शनाले युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि आफूहरू क्रियाशील भएको र फोहर भएको राजनीतिलाई सफा गर्न आफू चुनावी मैदानमा होमिएको बताइन्। जेनजी आन्दोलनमा भएको दमन कदापि उचित नभएको भन्दै उनले अब यस्ता घटना दोहोरिन नदिने उल्लेख गरिन्।
त्यस्तै राप्रपाका उम्मेदवार रविन्द्र मिश्रले पनि जनताका सानाभन्दा साना समस्या समेत स्वयं आफू उपस्थित भए समाधानको प्रयास गर्ने बताए।
निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा छन्। ४८ हजार ४८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ।





