काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रश्न उठाउँदा राज्यको गोलीले ज्यान जान नपर्ने नेपाल बनाउने प्रतिज्ञा गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले युवाको आवाज सुन्ने शासन व्यवस्था स्थापना गर्ने बताएका हुन्। ‘प्रश्न गर्दा कुनै युवकले भदौ २३ गतेजस्तो गोली खानु पर्दैन। कसैले सिंहदरबार जलाउन जानु पर्दैन। त्यस्तो नेपाल बनाउँछौँ,’ थापाले भने।
उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिने वातावरण बनाउने दाबी गरे। ‘अब देशको प्रधानमन्त्री कुनै पनि काण्डमा नमुछिने प्रतिज्ञा गर्छौँ,’ उनले भने,‘कसैले झुटा मुद्दा खेप्नुपर्ने छैन, हातमा फाइल बोकेर काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्छौँ।’
थापाले आगामी १० वर्षभित्र प्रत्येक नेपालीलाई सम्मानपूर्वक बाँच्न सक्ने आधार तयार गर्ने लक्ष्य पनि सार्वजनिक गरे। ‘विश्वसामु स्वाभिमानी र समुन्नत नेपाल निर्माण गर्नेछौँ,’ उनले भने।
सभामा कांग्रेसले चुनावी घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिँदै सार्वजनिक गरेको थियो। थापाले उक्त प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धता पूरा गरेरै छाड्ने दाबी गरे। ‘राजा जनकको भूमिमा घोषणा गर्न होइन, प्रतिज्ञा गर्न आएको हुँ। कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि हट्दैन,’ उनले भने।
उक्त कार्यक्रममा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले पुरानै शैलीमा राजनीति गरेर नयाँ परिणाम दिन नसकिने बताए। कांग्रेस बदलिएको सन्देश दिन मधेश आएको उल्लेख गर्दै उनले निर्वाचनलाई केवल फागुन २१ को मतदानसम्म सीमित नराख्न आग्रह गरे।
‘हामी २०८२ सालका लागि मात्रै होइन २०९२ साललाई दृष्टिमा राखेर सोचिरहेका छौँ,’ शर्माले भने। देशसँगै मधेश पनि पीडामा रहेको उल्लेख गर्दै उनले यो चुनाव कसलाई जिताउने भन्नेभन्दा देशलाई कसले जोगाउने र सम्हाल्ने भन्ने प्रश्नसँग जोडिएको बताए।
‘पुरानै ढंगले चलेर नयाँ देश बनाउन सकिँदैन। नयाँ संसद् र सरकार मात्रै होइन सोच र शैलीमा पनि परिवर्तन आवश्यक छ,’ उनले भने। जेनजी आन्दोलनपछि कांग्रेस बदलिएको दाबी गर्दै शर्माले आफूहरू नयाँ सोचसहित अघि बढ्न तयार रहेको बताए।




