एआईबाट निर्वाचनमा जोखिम बढाउन सक्ने निर्वाचन आयोगको सशंय

हिमाल प्रेस ६ फागुन २०८२ ८:०८ | Wednesday, February 18, 2026
4
SHARES
एआईबाट निर्वाचनमा जोखिम बढाउन सक्ने निर्वाचन आयोगको सशंय

काठमाडौँ- निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवम् सहयोगी भूमिका निर्वाह गरिदिन पनि आम सञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरे। उनले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्।

उनले भने, ‘हालैका केही अभ्यासहरू, जसमा मतदान हुनुअघि नै मतदाताहरुको कुराकानीलाई आधार बनाएर हार जितको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ । त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’

निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउन काम नगर्न आयोगले अनुरोध गरेको छ। प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गर्दै आएको छ।

प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने आयोगको धारणा छ।

प्रकाशित: ६ फागुन २०८२ ८:०८ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast