पोखरा- आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावमा गैरकानुनी रुपमा चन्दा संकलन गरेको अभियोगमा पोखरामा २ जना पक्राउ परेका छन् ।
‘माओवादी कार्यकर्ता हौं’ भनी डरधाक धम्की दिई गैरकानुनीरुपमा चन्दा संकलन गर्दै हिँडेको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुमाथि निगरानी बढाएको थियो । सोहीअनुरुप प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट विशेष प्रहरी टोली खटिएको थियो ।
यसरी पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका १३, छाब्दी निवासी ३२ वर्षीय अग्नि भन्ने लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छे« गाउँपालिका वडा २ निवासी ३७ वर्षीय भीमसेन परियार हुन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
तीमध्ये पाण्डे नेकपा बहुमत पार्टीका केन्द्रीय सदस्य र परियार सोही पार्टीका जिल्ला सेक्रेटरी रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट नगद २३ हजारसहित झोला, चन्दा रसिद, खाम, डायरी र मोबाइल बरामद गरेको छ । प्रहरीका अनुसार चन्दा रसिदमा नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला समिति कास्की उल्लेख भएको आर्थिक सहयोगबारे सेक्रेटरी क. वृन्दाको हस्ताक्षर छ । उनीहरुले भिरेको झोला नेपाल कम्युनिष्ट पार्टी माओवादी गण्डक ब्यूरो लेखिएको छ ।




