काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको छ।
स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा तिथिमिति फरक पर्न गएको भन्दै समितिले स्वीकृति लिएर मात्रै पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्न निर्देशन जारी गरेको हो।
समितिले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएका पञ्चाङ्ग तथा क्यालेन्डरहरू सम्बन्धित प्रशासनिक निकायमार्फत जफत गरी कानुन बमोजिम कारबाही गरिने जनाएको छ।
पत्रकार सम्मेलनमा समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले समितिको गठन आदेश बमोजिम नै पात्रो वा भितेपात्रो प्रकाशन गर्नुअघि समितिबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिए।
समितिको स्वीकृति नलिई पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले निर्देशन नै जारी गर्नुपरेको उनले बताए।
समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो तथा भित्तेपात्रोका विषयमा बजार अनुगमन जारी रहने उनले बताए।




