काठमाडौँ- नेकपा माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा परेको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै पुनले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो दलले राष्ट्रिय स्वाधीनता रक्षा, सुशासन, समृद्धि र रोजगारीका मुद्दालाई प्रमुख एजेण्डाका रूपमा अघि सारेको बताए । मुलुकले सुशासन र समृद्धि खोजिरहेको तथा युवालाई रोजगारी आवश्यक रहेको उनको भनाइ छ।
पुनले मतदान गर्नुअघि राष्ट्रको स्वाधीनता र भविष्य, युवाको भविष्य, सहिदहरूको बलिदान र ऐतिहासिक संघर्षहरुलाई स्मरण गर्न अपिल गरेका छन्। पुनले विगतदेखि नै सुशासन र समृद्धिका मुद्दामा नेकपाले काम गर्दै आएको दाबी गर्दै नेपाली कम्युनिष्ट पार्टी र यसका उम्मेदवारहरूलाई तारा चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।
पार्टीले विगतमा सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै उनले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेसी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन आफूरुहरुले भूमिका खेलेको बताए। संविधान र कानुनमार्फत सम्पत्तिमा महिलाको अधिकार, राजनीतिक सहभागिता र उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने पहल गरिएको उल्लेख गरे।
हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बनेको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको दाबी उनले गरे। ‘देश निर्वाचनमा होमिएको छ। राष्ट्रिय स्वाधीनमा संकटमा छ। देशले सुशासन खोजेको छ, समृद्धि खोजेको छ। युवाहरुर्ला रोजगारी आवश्यक छ। राष्ट्रिय स्वाधीनकाताको रक्षा, सुशासन र देशको समृद्धिका लागि विगतदेखि काम गर्दै आएको नेपाली कम्युनिष्ट पार्टी र यसका उम्मेदवारहरुलाई आगामी निर्वाचमा तारा चिह्नमा मतदान गरी विजयी गराई आम नेपाली जनताले युवाहरुले आफ्नो राष्ट्रभत्ति, देशभत्ति, स्वाधीनता र सशासनको प्रतिबद्धतालाई व्यक्त गर्नुपर्ने छ’, पुनले भनेका छन्, ‘त्यसका लागि म आफ्नो तर्फबाट तपाईंहरु सबैलाइ मतदान अगाडि राष्ट्रको भविष्यलाई सम्झन। युवाहरुको भविष्य सम्झन, देशको समृद्धि र सुशासन सम्झन र विगतका रक्तरञ्जित इतिहासहरु, हजारौंका दलिदानहरु र हाम्रा पूर्वजहरुले/अग्रजहरुले देशको रक्षाका लागि बगाएका रगतहरु एकपटक सम्झँदै नेपाली कम्युनिष्ट पार्टीले विभिन्न समयमा गरेका सुशासनका कामहरु, समृद्धिका कामहरु, युवाहरुका जागरण ल्याउने कामहरु, त्यसै गरी मजदुर किसानहरुका हकअधिकार र स्वाभीमानपूर्वक आफ्नो खुट्टामा उभिन सक्ने, प्रश्न गर्ने सक्ने स्वाभीमानी नागरिक नेपाली कम्युनिष्ट पार्टीले तयार गर्यो।’
अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पुनले स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सि र्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताएका छन्। पार्टी र नेता कमजोरीरहित नभए पनि विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने उनको भनाइ छ।




