काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेशको अंग बन्ने क्रम सुरू भइसकेको बताएका छन्।
शनिबार सर्लाही–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगन्तुक भएर आए पनि मधेशको अंग बन्ने क्रम सुरू भइसकेको बताएका हुन्।
‘म आउँदै गर्दा आगन्तुक जस्तो बनेर आएको छ, बाहिरबाट आएको छु, ठाउँ नयाँ, खाना नयाँ, पहिरन नयाँ,’ थापाले भने,‘तर म के कुरामा ढुक्क छु भने म यसको अंग बन्ने र यो मेरो परिवारको अंग बन्ने क्रम सुरू भइसकेको छ, म नाता जोड्छु भनेरै यहाँ आएको छु।’
आफ्नो पुरानो निर्वाचन क्षेत्रमा अनुकूल अवस्था रहेको बताउँदै उनले चुनाव जित्नकै लागि सर्लाही नआएको प्रस्ट पारे। थापाले कांग्रेसको जड मधेशमा भएकोले सर्लाहीबाट चुनाव लड्न आएको उल्लेख गरे।
‘सभापति भएर पार्टीको नेतृत्व गरिरहँदा मधेशबाटै नेतृत्व गर्ने जोखिम उठाउनुपर्छ भनेर यहाँ आएको हो, कांग्रेसको जड नै मधेशमा छ,’ उनले भने।
मधेशले कांग्रेसलाई सिन्चित गरे पनि पछिल्लो समय मूल नेतृत्वबाट त्रुटि भएको उल्लेख गर्दै उनले त्यसलाई सच्चाउन आफू सर्लाहीबाट चुनाव लडेको बताए।
‘मधेशले पनि कांग्रेसलाई सिन्चित गर्यो, मधेशको मूल नेतृत्व कांग्रेसले गर्नुपर्दथ्यो त्यो हुनसकेन, केही त्रुटि भए,’ थापाले भने,‘कांग्रेसको जडै यहाँ छ, कांग्रेसले नै हो यसको मुख्य नेतृत्व गर्ने, यसमा कांग्रेस फेरि आउनुपर्छ भनेर म सर्लाही आएको हो।’
कार्यक्रममा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव मनिष मिश्रलगायतका नेताहरू कांग्रेस प्रवेश गरेका थिए।




