काठमाडौँ– युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।
प्रतिनिधिमण्डलमा भारतका २० सदस्य, पाकिस्तानका १२ सदस्य, भुटानका ९ सदस्य तथा मालदिभ्सका पाँच सदस्यीय टोली सहभागी थियो।
प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपाल भ्रमण सुखद् र स्मरणीय रहोस् भनी कामना गरिन्।
विभिन्न मुलुकका सेनाले अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ तथा सक्षम नेतृत्व क्षमता भएका युवाहरू उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण तथा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्। राष्ट्रिय सेवा दल नेपालले माध्यमिक तथा उच्च माध्यमिक तहका करिब सात हजार ७१० विद्यार्थीलाई वार्षिक रूपमा जुनियर र सिनियर डिभिजन तालिम प्रदान गर्दै आएको छ।
नेपालले मित्र राष्ट्रहरूका सेवा दलसँग पारस्परिक रूपमा युवा आदानप्रदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत उत्कृष्ट क्याडेटहरूलाई बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, सिंगापुर र श्रीलंकासँगको पारस्परिक भ्रमणमा सहभागी गराइँदै आएको छ। साथै, सहभागी राष्ट्रहरूलाई वार्षिक नेपाल सेना दिवस समारोहमा समेत आमन्त्रण गरिन्छ।




