काठमाडौँ- नेपाली कांग्रेसले बदलिएको समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्प व्यक्त गरेको छ।
यसै सन्दर्भमा कांग्रेसले वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने तथा चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना प्रविधि, कृषि, श्रम र नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहने व्यक्तित्वलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेद्वारा विज्ञप्तिमा पार्टीका सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता तथा जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख छ।
कांग्रेसले आफूलाई विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मंचका रूपमा उल्लेख गर्दै संस्थागत मूल्य, पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको उक्त पार्टीको विश्वास छ।
राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन इच्छुक सबैलाई कांग्रेसमा औपचारिक रूपमा आबद्ध हुन पार्टीले अनुरोध गरेको छ।




