बंगलादेश नेशनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर। तस्बिर : बीबीसी बंगलादेश
काठमाडौँ- बंगलादेश नेशनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले १३औँ संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइ बहुमत हासिल गरिसकेको बताएका छन्।
उनले बंगलादेशको राजनीतिमा अवामी लिग जमात ए इस्लामीको उदयका लागि जिम्मेवार रहेको टिप्पणी पनि गरेका छन्।
मिर्जा फखरुलले संसदीय निर्वाचनअन्तर्गत ठाकुरगाउँ-१ निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्। उनले शुक्रबार बिहान ठाकुरगाउँमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
उनले भने,‘जमात ए इस्लामीको उदय १५ वर्ष लामो फासिवादी शासनको परिणाम हो। यो राजनीतिक विज्ञानको विषय हो। जब लोकतन्त्रलाई दबाइन्छ, अवरोध गरिन्छ तब अन्य शक्तिहरू उदाउन थाल्छन्। यही कुरा यहाँ भएको हो। आज जमात ए इस्लामीको उदय अवामी लिगका कारण भएको हो।’
उनले थपे,‘यी सबै कुरा अवामी लिगको दमनकारी शासन, विपक्षी दलहरूलाई काम गर्न नदिनु र निर्वाचनमा सहभागी हुन नदिनुको परिणाम हुन्। तर जनताले उनीहरू (जमात ए इस्लामी) लाई अस्वीकार गरिसकेका छन्। बीएनपीले पहिले नै दुई तिहाइ बहुमत प्राप्त गरिसकेको छ।’




