सातौँ वर्षमा ‘एलओडी क्लब’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसहित वार्षिकोत्सव मनाउँदै

हिमाल प्रेस २६ माघ २०८२ १७:३३ | Monday, February 9, 2026
12
SHARES
सातौँ वर्षमा ‘एलओडी क्लब’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसहित वार्षिकोत्सव मनाउँदै

काठमाडौँ- ‘एलओडी क्लब’ सञ्चालनमा आएको सात वर्ष पुगेको छ। यसै अवसरमा क्लबले सातौँ वार्षिकोत्सव मनाउने घाेषणा गरेको छ।

विभिन्न कार्यक्रम गरी मंगलबार (भाेलि) वार्षिकोत्सव मनाउने तयारी भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए। निर्देशक कुँवरका अनुसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति दिनेछन्। कार्यक्रम बेलुका ८ बजे सुरु हुनेछ।

एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको निर्देशक कुँवरले बताए। कुँवरले भने, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरूमार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ। जसले राष्ट्रिय एकता भावनालाई अझ बलियो बनाएको छ।’

रातको समयमा ठमेल घुम्न आउनेहरूका लागि एलओडी गन्तव्य बनेको उनको दाबी छ। ठमेल आउने हरकोही एकपटक एलओडी जाने गरेको उनले सुनाए।

हाल एलओडी क्लब विदेशी र स्वदेशी पर्यटकका लागि एउटा गन्तव्य बनिसकेको उनले बताए। ‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिँदै आइरहेका छौँ,’ उनले भने, ‘यो स्थान केही गर्छु भन्ने मानिसका लागि एउटा प्लेटफर्म बनेको छ। यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन्।’

उनका अनुसार क्लबले आफ्नो संरचना बदलिरहेको छ। क्लबभित्रका पाहुनालाई बस्ने ठाउँ र लाइट सिस्टम परिवर्तन गरिएका छन्। उनकाअनुसार क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन्। ६०० जनाका लागि सिटिङ र २ हजारको स्टयाण्डिङको क्षमता छ।

सन् २०१९ मा स्थापना भएकाे एलओडीमा नेपालीसहित भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिइसकेका छन्।

बलिउडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले पनि सो गरिसकेका छन्। त्यसैगरी, टिम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारीलगायत कलाकारले समेत प्रस्तुति दिइसकेका छन्।

क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय नेता राहुल गान्धी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेको निर्देशक कुँवरले बताए।

प्रकाशित: २६ माघ २०८२ १७:३३ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast