नेपाली कांग्रेसका सभापति गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँलाई मधेश बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताएका छन्।
गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा सलग्न रहेका सर्लाही क्षेत्र नम्बर ४ का मतदातासँग शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले सर्लाहीबाट उम्मदेवारी दिएको बताए।
उनले भने,‘मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ। म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ। अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेशलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेश आएको हुँ। म जस्तै काठमाडौँले मधेशलाई सहतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेशको महत्व बुझाउनेछु।’
उनले आगामी पाँच वर्षमा मधेशको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए।
‘सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायतको टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु। जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले चनुाव यहीँ चुनाव लड्नस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,’ सभापति थापाले भने।
उनले आफ्नो ज्ञान र सम्पर्कसुत्र प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे।



