निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

हिमाल प्रेस २४ माघ २०८२ १४:५५ | Saturday, February 7, 2026
12
SHARES
निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

काठमाडौँ– महोत्तरीमा निर्वाचनको चहलपहल बढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ। खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन्।

राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन्।

‘निर्वाचन चहलपहले हाम्रो व्यस्तता बढेको छ,’ बर्दिबासका होटल सञ्चालक तथा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका महासचिव नारायण घिमिरे भन्छन्, ‘अबको एक महिना हाम्रो व्यवसाय जम्ने ठानेका छौँ।’

जिल्लाका सबै भेगका बजारमा होटल व्यवसाय राम्रो चलेका उनको भनाइ छ।

प्रतिनिधिसभा क्षेत्र–१ को बर्दिबासमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारका निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएसँगै होटलमा ग्राहकको संख्या ह्वात्तै बढेको छ। बर्दिबास चोक वरपर १० वटा दलले निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएका छन्। यी कार्यालय सञ्चालनमा आएलगत्तै बजार चहलपहल ह्वात्तै बढेको बर्दिबासकै अर्का होटल व्यवसायी विमल भण्डारी बताउँछन्।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रका सबैजसो केन्द्र (निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका ठाउँ) बजार क्षेत्रमै छन्। क्षेत्र नम्बर–१ को बर्दिबास, २ को बलवा, ३ को जलेश्वर र चारको रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय छ।

अहिले यी ठाउँमात्र नभएर मटिहानी, पिपरा, मनरा, सम्सी, गौशाला, सीतापुर, लोहारपट्टी, औरही, खयरमारा, सरपल्लो, रौजासहितका बजार क्षेत्रका होटल ग्राहकले खचाखच देखिन्छन्। यी ठाउँमा दल र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताको जमघट बढेसँगै बजारु चहलपहलमा वृद्धि भएको रौजाबजारका सामाजिक कार्यकर्ता मन्सुल कवारीको भनाइ छ।

चुनावी चहलपहलले होटलमात्र नभएर अन्य व्यापार व्यवसाय पनि चलायमान भएको व्यापारी बताउँछन्। ‘अहिले चुनावले बजारमा चहलपहल बढेको छ,’ सीतापुर बजारका कपडा व्यापारी सहवुल अन्सारी भन्छन्, ‘व्यापारीलाई राहत मिलेको छ।’

बजारमा चहलपहल बढेको छ। यससँगै झण्डा, ब्यानर, पर्चा र पम्प्लेटका लागि कपडा पसल, पेन्टर र प्रेसमा चुनावी प्रयोजनका ग्राहक बढ्दै गएका गौशाला बजारका अजय साहको भनाइ छ। निर्वाचन जनजन र घरघर परिचालित हुने ‘महापर्व’ जस्तै हो।

आगामी फागुन ३ गतेपछि चुनावी प्रचार औपचारिक रुपमा सुरु भएपछि चहलपहल झन बढ्ने जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीको भनाइ छ।-रासस

प्रकाशित: २४ माघ २०८२ १४:५५ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast