बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही-१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएर पनि टिकट नपाएपछि असन्तुष्ट डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन्।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रास्वपाले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि यसको ‘डीएनए’नै अर्कै रहेको ठहर गरी पार्टी छाडेको बताएका हुन्।
कुँवर रुपन्देही-१ बाट प्रतिनिधिसभा सदस्यका प्रमुख आकांक्षी थिए। तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएपछि कुँवर असन्तुष्ट भएका हुन्।
लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन्। उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नगरेको, राष्ट्रियता, देशको विकास नीति, अर्थनीति तथा अन्य राजनीतिक सिद्धान्त समेत केही नभएको पाएपछि पार्टी परित्याग गरेको बताएका छन्।
अमेरिकाबाट निर्वाचन लड्नकै लागि भनेर नेपाल आएका उनले आफूमाथि अन्याय भएकाले मात्रै रास्वपा नछाडेको बताउँदै मुलुक बनाउने कुनै ऐजेन्डा नभएको उनले आरोप लगाए। समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिएर नयाँ भ्रष्टाचारको तरिका अपनाएको समेत उनको भनाइ छ।
कुँवरले असन्तुष्ट व्यक्त गर्दै प्रलोपाबाट उम्मेदवारी दर्ता गरेका थिए। तर, पछि रास्वपा उम्मेदवार लम्सालसँग सहमती गरेर आफ्नो उम्मेदवारी निष्कृय बनाएपछि उनले पार्टी फरक रहेको पाएपछि अलग भएको बताए।



