काठमाडौँ– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नेपाली कांग्रेसका लागि मात्र नभएर भर्खरै विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाका लागि ‘अग्निपरीक्षा’ साबित हुने देखिएको छ।
‘नेतृत्व परिवर्तन नभए चुनाव नलड्ने’ अडानपछि पार्टीको बागडोर सम्हाल्न पुगेका थापासामु एकातिर पार्टीभित्र सबैलाई समेट्नुपर्ने दबाब छ भने अर्कोतिर चुनावी नतिजा पार्टीका पक्षमा पार्नुपर्ने चुनौती छ।
कांग्रेसले ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ नाराका साथ सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। विशेष महाधिवेशनको राप र पछिल्लो समय देखिएको जेनजी लहरलाई मतमा बदल्न नसके यसको सीधा जवाफ थापाले दिनुपर्नेछ।
युवा पुस्ताहरूमाझ एकखाले भाष्य निर्माण गरिएको छ– यसपालि पुराना होइन, नयाँ छानौँ। यो भाष्य चिर्दै युवाहरूको मत आफूतिर तान्न कांग्रेस दबाबमा छ।
निर्वाचन आउन एक महिनामात्र बाँकी रहँदा पुराना दलप्रति मतदाताको वितृष्णा र विशेष महाधिवेशनपछिको उत्साहबीच कांग्रेसले कस्तो सन्तुलन कायम गर्छ, त्यसैले सभापति थापाको राजनीतिक भविष्य र कांग्रेसको आगामी यात्रा तय गर्ने विश्लेषकहरूको बुझाइ छ।
लामो समयदेखि पार्टीमा रूपान्तरण र पुस्तान्तरणको मुद्दा उठाउँदै आएका थापाका लागि अब बोलेर मात्र पुग्ने छैन। उनले सर्लाही–४ को चुनौतीपूर्ण मैदानबाट आफूलाई प्रमाणित गर्नुपर्नेछ। तीन पटकसम्म एउटै क्षेत्र (काठमाडौँ–४) बाट निर्वाचित थापाले यसपटक भूगोल परिवर्तन गरेका छन्। सुरक्षित क्षेत्र छाडेर मधेश झर्नुलाई धेरैले उनको ‘आक्रामक र आत्मविश्वासी’ रणनीतिका रूपमा लिएका छन्।
कांग्रेसका नेताहरू आगामी निर्वाचनमा पार्टीले सहज बहुमत ल्याउने दाबी गर्छन्। बहुमतका लागि प्रत्यक्ष र समानुपातिकममा गरी १३८ सिट ल्याउनुपर्छ।
कांग्रेसले २०७४ सालको निर्वाचनमा समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत ल्याएको थियो। कांग्रेसका प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी ८९ सदस्य निर्वाचित भएका थिए।
यसैगरी २०७९ सालको २७ लाख १५ हजार २२५ मत पाएको थियो। दुवै चुनावमा कांग्रेस अन्य दलसँग गठबन्धन गरेर चुनावमा गएको थियो। यसपटक भने चुनावमा कतै गठबन्धन गरिएको छैन।
२०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण कांग्रेसको मत घटेको अनुमान गरिएको थियो। यसपटकको चुनावमा रास्वपा अघिल्लो चुनावको तुलनामा बढी सक्रिय देखिएको छ। एमाले र नेकपाजस्ता पुराना प्रतिस्पर्धीसँग पनि कांग्रेसले जुध्नैपर्नेछ।
बदलिएको राजनीतिक माहोलमा कांग्रेसले चुनावी अभियानलाई सक्रिय पार्न नसके मत अझै घट्ने अनुमान विश्लेषकहरूले गरेका छन्।
विश्लेषक पुरञ्जन आचार्य नयाँ दलको जगजगीमा कांग्रेसको मत घट्न सक्ने बताउँछन्। उनका अनुसार कांग्रेसको मत लचक किसिमको हुने भएकाले आक्रामक सांगठनिक प्रचार चाहिन्छ। कांग्रेसका नेताहरूले त्यसो गर्न हिम्मत नगरेको आचार्यको तर्क छ।
कांग्रेस नेताहरू भने सभापति थापाको नेतृत्वमा कांग्रेसले बहुमत ल्याउने र उनी प्रधानमन्त्री बन्ने दाबी गर्छन्। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले भने, ‘जनतालाई कांग्रेसको कर्म थाहा छ र जनतालाई भरोसा पनि छ। यही कारण कांग्रेसले सुविधाजनक बहुमत ल्याउँछ। भरपर्दो र मुलुकलाई सही तरिकाले अघि बढाउन सक्ने पार्टी कांग्रेस हो।’
विश्लेषक आचार्य भने नयाँ दलका कारण फेरि पनि कांग्रेसको मत प्रभावित हुने सम्भावना रहेको औँल्याउँछन्। ‘नेताले दिएको निर्देशनअनुसार कांग्रेसका कार्यकर्ताले मत हाल्दैनन्। उनीहरूले समानुपातिक सूचीमा भएका नाम हेरेर मत हाल्ने गरेका छन्। यही कारण मत प्रभावित हुन सक्छ’, उनले भने।
अघिल्लो चुनावमा पनि नेताका आफन्त र आसेपासे समानुपातिकमा पर्दा मत घटेको थियो। कांग्रेस सहमहामन्त्री स्नेही भने नयाँ दलमा भन्दा जनताको भरोसा कांग्रेसमै हुने दाबी गर्छन्। ‘अहिलेका सभापति हेर्नुहोस् सबैभन्दा भर्खरको हुनुहुन्छ। रास्वपाका सभापति रवि लामिछानेभन्दा पनि कम उमेरको हुनुहुन्छ गगन थापा। यही कारण कांग्रेस नयाँ पार्टी हो,’ स्नेही भन्छन्, ‘आगामी निर्वाचनमा कांग्रेसको प्रत्यक्षमा ९० सिट आउँछ र समानुपातिकमा १५ लाख मत बढ्छ।’
स्नेही ‘नयाँ दल’ का नेताहरूले राजनीतिभन्दा सन्देहपूर्ण गतिविधि गरिरहेकाले जनताले नरुचाउने दाबी गर्छन्।
कांग्रेसको नेतृत्व परिवर्तन भए पनि त्यसको प्रभाव तल्ला तहमा देखिएको छैन। विशेष महाधिवेशनमा केन्द्रीय नेतृत्वबाहेक अन्य कुरा परिवर्तन हुँदैन। केन्द्रीय नेतृत्व परिवर्तन भए पनि कांग्रेसका जिल्ला, प्रदेशका संरचना र भ्रातृ संगठनको नेतृत्व पुरानै छन्। यही कारण पनि केन्द्रमा भएको परिवर्तन तल्लो तहमा नपरेको विश्लेषण आचार्यको छ।
समानुपातिक उम्मेदवारप्रति नेताहरू सन्तुष्ट छैनन्। लामो समय संसदीय राजनीतिमा सक्रिय नेताहरू समानुपातिकमा छानिएको भन्दै असन्तुष्टि बढेको थियो।
तत्कालीन सभापति देउवाकै नेतृत्वमा छानेकाले त्यति बेला इतरपक्ष मौन बस्यो। किनभने समानुपातिक सूची विशेष महाधिवेशन अगाडि आयो। अहिले थापा समानुपातिक उम्मेदवार छान्न सोचेजस्तो तयारी गर्न नसकेको दाबी गर्दै आएका छन्। थापा महामन्त्रीकै हैसियतमा पनि उम्मेदवार छान्न निर्णायक थिए। संस्थापनले बढी लिएर कम प्रतिशत मात्र इतरलाई दिएको बुझाइ कांग्रेसमा छ।
विश्लेषक आचार्य गगन–विश्व देउवालाई देखाएर पन्छिन नमिल्ने बताउँछन्। उनले भने, ‘उनीहरू साबिकको समितिमा पनि निर्णायक भएकाले स्वतः जिम्मा लिनुपर्छ। समानुपातिक मत पार्टीप्रतिको भरोसालाई दिइएको हो। थापाले कांग्रेसलाई कतिको निर्णायक बनाउँछन् त्यो हेर्न बाँकी छ।’
कांग्रेसले नेतृत्व त बदल्यो, तर अब प्रश्न उठ्छ– के उसले एजेन्डा र प्रस्तुति पनि बदल्ला? विश्लेषकहरूका अनुसार गगन थापा र विश्वप्रकाश शर्माका लागि नयाँ अनुहार हुनु मात्र पर्याप्त छैन। मतदाताले अब पार्टीले ल्याउने चुनाव घोषणापत्र र चुनावी मैदानमा नेताहरूको प्रस्तुतिलाई नजिकबाट हेर्नेछन्। कांग्रेसले आफ्ना एजेन्डालाई जनताको भान्सा र जीविकासँग कसरी जोड्छ र त्यसको कार्यान्वयनको ‘ग्यारेन्टी’ कसरी दिन्छ, त्यसैले निर्णायक मत तय गर्नेछ।
विगतमा पुराना दलहरू नयाँ शक्तिको प्रहारबाट त्रसित र रक्षात्मक देखिन्थे। त्यसबाट बच्न गगन–विश्वको जोडीले कस्तो भाष्य प्रस्तुत गर्छ, त्यो महत्वपूर्ण छ। ‘हामीले पार्टी सुधार्यौँ, अब देश सुधार्छौँ’ भन्ने सन्देश आत्मविश्वासका साथ जनताको घरदैलोमा पु¥याउन सके मात्र खस्कँदो जनमत पार्टीका पक्षमा आउन सक्छ।
त्यसो त कांग्रेसका लागि अवसर पनि उत्तिकै छ। विगतका दुईवटा संसदीय निर्वाचनमा चुनावी गठबन्धनका कारण आफ्ना उम्मेदवार नभएका क्षेत्रमा अन्य दललाई मतदान गर्न विवश कांग्रेस कार्यकर्ताहरू यसपटक उत्साहित छन्। १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार उठाएकाले कार्यकर्ताले आफ्नै चुनाव चिह्न रूखमा मत हाल्न पाउनेछन्, जसले समानुपातिक मतसमेत उल्लेख्य बढ्ने अपेक्षा गरिएको छ।
यसपटक कांग्रेसले उम्मेदवार चयनमा युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। विगतमा जस्तो विवादास्पद छवि बनाएका नेताहरूलाई पाखा लगाइएको छ भने टिकट वितरणमा हुने भनिएको ‘आर्थिक चलखेल’ का गुनासोहरू यसपटक सुनिएका छैनन्। यसले जनतामा कांग्रेस सच्चिन खोजेको सकारात्मक सन्देश दिएको छ।
नेतृत्व परिवर्तनको मुख्य श्रेय पाएका सभापति थापाका लागि यो चुनाव ‘गर या मर’ को स्थिति हो। सहज बहुमत आएन भने ‘देउवालाई विस्थापित गरेपछि पार्टीले के पायो’ भन्ने प्रश्नको जवाफ उनले दिनुपर्नेछ।
‘अहिलेको नेतृत्वले कांग्रेसलाई गुटमुक्त बनाएर एकजुट बनाएको छ। जनताले भरपर्दो र मुलुकलाई सही दिशा दिने पार्टीका रूपमा कांग्रेसलाई नै रोज्नेछन्’, सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको यो दाबीलाई चुनावी परिणामले कति समर्थन गर्छ, त्यो हेर्न बाँकी छ।




