काठमाडौँ- नेपाल अतिकम विकसित मुलुक (एलडीसी) को पहिचानमै ररिरहने कि आत्मविश्वासका साथ माथि उठ्ने– यो बहस अब सैद्धान्तिक नभई ऐतिहासिक मोडमा पुगिसकेको यस क्षेत्रका विज्ञहरूको धारणा छ।
यही सन्दर्भमा कूटनीतिक तथा विकास केन्द्र (सीडीडी) कोठमाडौँले आफ्नो स्थापनाको आठौँ वर्षको अवसरमा आयोजना गरेको छलफलले नेपाल अब एलडीसीको तहबाट बाहिर निस्कने साहस गर्नुपर्ने निष्कर्ष निकालेको छ।
कार्यक्रममा ‘नेपालको एलडीसीबाट माथि उठ्ने प्रक्रिया र सुदृढ साझेदारीको आवश्यकता’ तथा ‘कार्यस्थलमा भावनात्मक बुद्धिमत्ता विकास’ विषयमा केन्द्रित भएर छलफल भएको थियो। छलफलमा ‘नेपाल अब कमजोर देशको पहिचान बोकेर बाँचिरहने कि जिम्मेवार राष्ट्रको रूपमा उभिने’ भन्ने प्रश्न उठेका थिए।
राष्ट्रसंघका पूर्वउपमहासचिव एवं पूर्वपरराष्ट्र सचिव तथा राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले आफ्नो लामो कूटनीतिक अनुभव स्मरण गराउँदै भने,‘एलडीसी हुनु विकासको स्थायी अवस्था होइन, यो एउटा अस्थायी चरणमात्र हो।’
उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गर्दै आएको विचार यहाँ पुनः दोहोर्याउँदै देशलाई सधैँ कमजोर देखाएर प्राप्त हुने सहुलियतले राष्ट्रको आत्मबल निर्माण नगर्ने बताए।
आचार्यका अनुसार राष्ट्रसंघले निर्धारण गरेको मापदण्ड कुनै राजनीतिक दबाब नभएर राष्ट्रको तयारी र सम्भावनाको मूल्यांकन हो। ‘यही हामी आफैँलाई कमजोर मानिरह्यौँ भने संसारले पनि हामीलाई त्यही आँखाले हेर्छ,’ उनले भने,‘एलडीसीबाट उक्लनु भनेको सुविधा गुमाउनु होइन, जिम्मेवारी स्वीकार गर्नु हो।’
सन् २०३२ सम्म आइपुग्दा एसिया महादेशमा अतिकम विकसित मुलुक नरहने उनले स्मरण गराए। यस्तो अवस्थामा नेपालले निर्णयलाई टार्दै गए एसियामा एक्लो एलडीसी देशको रूपमा चिनिने जोखिममात्र नभइ आत्मसम्मान पनि गुमाउने खतरा रहेको उनको भनाइ छ।
‘विश्व अर्थतन्त्रमा स्थान खोज्ने देशले पहिचानको राजनीति होइन, क्षमताको राजनीति गर्नुपर्छ,’ संयक्त राष्ट्रसंघमा बारम्बार उठाउँदै आएको विषय उनले कार्यक्रममा पनि भने। नेपालको व्यापार विकास सहकार्यबारे बोल्दै आचार्यले एलडीसीको हैसियतमा पाएको सहुलियतलाई अवसरमा रूपान्तरण गर्न नसकेको यथार्थ स्वीकार्न नसकेको बताए।
उनका अनुसार ग्राजुएसनको डरले होइन, ग्राजुएसनपछि के गर्ने भन्ने दृष्टिले नीतिहरू बन्नुपर्छ। ‘माथि उक्लन नसक्ने डरभन्दा तलै बसिरहने बानी बढी खतरनाक हुन्छ,’ भन्ने उनको दार्शनिक शैलीको भनाइ थियो।
सीडीडीका अध्यक्ष तथा पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठले एलडीसीबाट माथि उठ्ने नेपालको क्षमता भए पनि केही नेतृत्व तहको सोच र आत्मविश्वासको कमीले ढिलाइ हुनसक्ने बताए। ‘समस्या स्रोतको होइन, सोचको हो, सकारात्मक दृष्टिकोणका साथ अघि बढ्नुपर्छ, हामी सक्छौँ,’ उनले भने।
सीडीडी सन् २०१८ मा आजकै दिन स्थापना भएको स्मरण गराउँदै उनले नीति, कूटनीति र विकासका विषयमा खुला बहस गर्ने उद्देश्य भए पनि सहकार्यको अभावका कारण चाहेजति प्रभाव पार्न नसकेको भन्दै भने,‘यहीँबाट सबै कुरा स्पष्ट हुन्छ। बौद्धिक बहस र छलफलमा हामी अग्रसर हुँदैनौँ। त्यसका लागि बजेट पनि हुँदैन, तर हामीलाई रमाइलो गर्न र अरुका कुरा गर्न कसैले छेक्दैन। यही सोचलाई परिवर्तन गरौँ।’
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यष बीरेन्द्रराज पाण्डेले नेपालको वित्तीय अवस्था र व्यापार संरचनामाथि धारणा राख्दै एलडीसी सहुलियतमा आधारित अर्थतन्त्र दीर्घकालीन रूपमा टिकाउन नहुने बताए। उनका अनुसार नेपालले के उत्पादन गर्छ, के निर्यात गर्छ र कसरी प्रतिस्पर्धा गर्छ भन्ने स्पष्ट रणनीतिविना ग्राजुएसनको अर्थ रहँदैन।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले एलडीसीबाट माथि उठ्ने निर्णय भावनामा नभइ क्षमताको यथार्थ मूल्यांकनमा आधारित हुनुपर्ने बताए। कर्मचारीतन्त्रमा सकारात्मक सोचको कमी, संस्थागत कमजोरी र निजी क्षेत्रको सीमित क्षमताले चुनौती थपिएको उनको भनाइ छ। थप अध्ययन, तयारी र आवश्यक समय मागेर अघि बढ्दा देशको हित सुरक्षित हुने उनको धारणा थियो।
कार्यक्रममा सहभागी अन्य पूर्वराजदूत तथा विज्ञहरूले पनि नेपालले बंगलादेशसँग तुलना गर्दै सँगै ग्राजुएसन गर्न हतार गर्नुको औचित्यमाथि प्रश्न उठाए। तर, आचार्यलय यस प्रश्नलाई दार्शनिक ढंगले चिर्दै भने,‘ग्राजुएसन प्रतिस्पर्धा होइन, आत्मनिर्णय हो। हामी तयार छैनौँ भनेर सधैँ पछि हट्ने हो भने, कहिल्यै तयार हुँदैनौँ।’
सीडीडीका उपाध्यक्ष मित्रबन्धु पौडेलले कार्यस्थलमा भावनात्मक बुद्धिमत्ता विकासबारे प्रस्तुति दिँदै नीति निर्माणदेखि प्रशासन र निजी क्षेत्रसम्म नेतृत्व संस्कृतिमा परिवर्तन नआएसम्म आर्थिक सूचकमात्र बदलिनु पर्याप्त नहुने बताए।
केक काटेर सम्पन्न भएको कार्यक्रमको निष्कर्ष स्पष्ट थियो- नेपाल एलडीसीबाट माथि उठ्ने निर्णय अब केवल प्राविधिक प्रक्रिया होइन, राष्ट्रिय आत्मविश्वसको परीक्षा हो। माथि उक्लनु जोखिम हो, तर सधैँ तलै बसिरहनु अझ ठूलो जोखिम हो भन्ने धारणमा अडेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो। सीडीडीले यस्ता बहस आयोजना गर्दै आएको छ।
कार्यक्रममा पूर्वराजदूत, अर्थविद्, प्राध्यापक, निजी क्षेत्रका हस्ती, पत्रकार तथ अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। सीडीडीमा नयाँ सदस्य थपिने र पुरानाले गरेको काममा प्रशंसा दिने कार्य पनि भएको थियो।



