काठमाडौँ- नेपाली कांग्रेसले आसन्न निर्वाचन पूर्व कुनै पनि दलसँग तालमेल नगर्ने स्पष्ट पारेको छ।
प्रतिनिधिसभा निर्वाचनका सम्बन्धमा बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनावपूर्व कसैसँग तालमेल नहुने स्पष्ट पारेका हुन्।
उनले एक्लै निर्वाचन लड्नका लागि पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको धारणा राखे। यसअघि गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेकाले चुनावपूर्वको गठबन्धनमा कांग्रेसको जोड नहुने उनको भनाइ छ।
प्रवक्ता चालिसेले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराए। यस्ता कामलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ। प्रवक्ता चालिसेले निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु भएपछि कांग्रेसका सबै नेताहरूको साथ प्राप्त हुने धारणा राखे।
त्यस्तै प्रवक्ता चालिसेले फागुन २१ गते नै निर्वाचन हुन्छ भन्ने मान्यतामा कांग्रेस अघि बढेकाले निर्वाचन सार्ने अवस्था नदेखिएको बताए।



