गोरखा धार्चेका २० जोडीले लगाए मित

हिमाल प्रेस २१ माघ २०८२ ११:५० | Wednesday, February 4, 2026
10
SHARES
गोरखा धार्चेका २० जोडीले लगाए मित

गोरखा- हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ।

सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला’मा मितेरी साइने लगाउने परम्परालाई निरन्तरता दिइएको थियो। सो अवसरमा २० जोडीले मित लगाएका थिए।

मेलामा गोरखासँगै धादिङ, लमजुङ, कास्की, तनहुँ लगायतका जिल्लाहरूबाट आएका अवलोकनकर्ताले एक आपसमा मित लगाएका हुन्।

उनीहरूले परम्परागत तरिकाले टाउको ठोक्काएर मित लगाएको मेला आयोजक समितिका संयोजक प्रदीप खत्रीले बताए।

‘दुवैतर्फको चेलीबेटीले टीकाटाला गरी खादामाला लगाइदिन्छन्। अनि दुवैजनाले परस्पर बाहाँ जोडेर टीका लगाने, पैसा साँटासाँट गर्छन्’, खत्रीले भने,‘चेलीबेटीले तीनपटकसम्म टाउको ठोक्काइदिएपछि मित हुने चलन छ।’

मित लगाएपछि दुवै पक्षका साथीभाइ रमाइलो गरी नाचगान गर्ने चलन रहेको उनको भनाइ छ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका-३ खोर्लावेशीमा ‘ऐतिहासिक तातोपानी मेला-२०८२’ सम्पन्न भएको छ।

लार्के मनास्लु युवा क्लबको आयोजनामा यही माघ १६ गतेबाट सुरु भएको तातोपानी मेला सोमबार सम्पन्न भएको हो।

मेलाको अवसरमा मित लगाउने परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनकुमार गुरुङले बताए।

मेला अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम एवं रैथाने खाना महोत्सवलगायत विभिन्न कार्यक्रमहरू भएका थिए।

मेलामा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक प्रस्तुतिसमेत रहको थियो। दश हजार बढीले मेला अवलोकन गरेको आयोजकको भनाइ छ।

आयोजक लार्के मनास्लु युवा क्लबका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षता एवं धार्चे गाउँपालिकाको अध्यक्ष लक्षमण गुरुङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच मेलाको समापन भएको छ।

प्रकाशित: २१ माघ २०८२ ११:५० | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast