काठमाडौँ- सामाजिक सञ्जालमा भ्रम फैलिन थालेपछि झापा-५ मा नेपाली कांग्रेसले कार्यकर्तालाई सचेत रहन आग्रह गरेको छ।
कांग्रेस झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले चुनावी गठबन्धन वा तालमेल हुने भन्ने हल्लाको पछि नलाग्न निर्देशन दिएको हो।
क्षेत्रीय समितिले सामाजिक सञ्जालमार्फत फैलाइएका अपुष्ट र भ्रमित पार्ने सूचनाका कारण आफ्नै उम्मेदवारविरुद्ध गतिविधि भएमा त्यसको सूक्ष्म मूल्यांकन गरी रेकर्डसमेत राखिने चेतावनी दिएको छ।
विज्ञप्तिमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले देशभर कुनै पनि दल वा उम्मेदवारसँग चुनावी गठबन्धन तथा तालमेल नगर्ने केन्द्रीय समितिको निर्णय रहेको उल्लेख गरिएको छ।
सोही निर्णयअनुसार झापा-५ मा पार्टीका आधिकारिक उम्मेदवार मन्धरा पौडेललाई मतदान गर्न कार्यकर्ता तथा समर्थकलाई आह्वान गरिएको छ।
कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीद्वारा जारी विज्ञप्तिमा पार्टीको नीति र निर्देशनविपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने बताइएको छ।
सामाजिक सञ्जालमा भ्रम फैलाउने तथा उम्मेदवारविरुद्ध नकारात्मक प्रचार गर्ने गतिविधिमा संलग्नलाई निगरानीमा राख्ने काम सुरु गरिएको उनले बताएका छन्।
झापा-५ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसहित २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।



