अस्पतालबाट फर्किएपछि रविको उद्घोष- सिंहदरबारबाटै निलो क्रान्ति सुरु हुन्छ

हिमाल प्रेस २० माघ २०८२ १७:३४ | Tuesday, February 3, 2026
10
SHARES
अस्पतालबाट फर्किएपछि रविको उद्घोष- सिंहदरबारबाटै निलो क्रान्ति सुरु हुन्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वास्थ्य उपचारपछि सार्वजनिक जीवनमा फर्किएको घोषणा गर्दै देशमा अब घटना होइन इतिहास लेखिने दाबी गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै लामिछानेले सामान्य ठानिएको चोटमा संक्रमण भएपछि केही दिन अस्पतालमा बस्नुपरेको र आरामपछि पुनः सक्रिय राजनीतिमा फर्किएको जानकारी दिएका हुन्।

‘आजबाट म सार्वजनिक जीवनमा फर्कँदैछु,’ उनले लेखेका छन्, ‘र, यो संकल्पका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ, त्यो घटना हुने छैन, इतिहास हुनेछ।’

लामिछानेले परिवर्तनको यो इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्ने उल्लेख गर्दै आफू सिंहदरबार पुग्न नभई सिंहदरबार बदल्न चाहेको बताएका छन्। ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु-घण्टीमा भोट।’ उनले लेखेका छन्।

उनले दुईतिहाइ सरकारको आलोचना गर्दै आफूले अदालत धाउँदै विष निकाल्ने संघर्ष गरेको उल्लेख गरेका छन्। देशभर पुगेर प्रत्यक्ष जनसंवाद गर्ने प्रयास रहने पनि उनले बताएका छन्।

लामिछानेले एकाध पुल, भवन र सडकका तस्बिर बेच्ने ‘कस्मेटिक सुधार’मा आफूलाई कुनै रुचि नभएको उल्लेख गर्दै कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्न स्पष्ट जनम्याण्डेट आवश्यक रहेको धारणा राखेका छन्।

आफ्नो व्यक्तिगत भविष्यभन्दा देशको भविष्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लामिछानेले थप त्याग र कठोर तपस्याका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका छन्। ‘मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ, मलाई त्यसको परवाह छैन,’ उनको भनाइ छ।

उनले परम्परागत दल र नेताहरूलाई लक्षित गर्दै रास्वपालाई लोकप्रियतावादी र भिजनविहीन भन्ने आरोपको खण्डन गरेका छन्। रास्वपाका नीति, सिद्धान्त र दस्तावेजहरू स्पष्ट रहेको भन्दै आलोचकहरूलाई ती पढ्न आग्रह गरेका छन्।

लामिछानेले आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा चित्रण गर्दै फागुन २१ लाई नेपाली इतिहासको ‘माइलस्टोन’ हुने दाबी गरेका छन्। ‘फागुन २१ पछि आउने संसदमा प्रतिपक्षीसमेत नयाँ हुनुपर्छ,’ उनले उल्लेख गरेका छन्।

प्रकाशित: २० माघ २०८२ १७:३४ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast