निर्वाचन : उम्मेदवार अर्जुन कार्कीद्वारा ‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ प्रतिबद्धतापत्र सार्वजनिक

हिमाल प्रेस २० माघ २०८२ १५:३७ | Tuesday, February 3, 2026
26
SHARES
निर्वाचन : उम्मेदवार अर्जुन कार्कीद्वारा ‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता तथा पार्टी कार्यकर्तासँग भेटघाटलाई तीव्र बनाएका छन्।

हालै चैनपुरमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै डा.कार्कीले जिल्लाको समग्र विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा हासिल गरेका उपलब्धिहरूबारे मतदातालाई जानकारी गराउन थालेको बताएका छन्।

एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको छ।

जिल्लामा अन्य राजनीतिक दलहरूले पनि शान्तिपूर्ण रूपमा चुनावी गतिविधि अगाडि बढाइरहेको बताउँदै डा.कार्कीले संखुवासभामा एमालेले आफ्नो विरासत कायम राख्ने गरी सशक्त तयारी गरिरहेको बताए।

‘समुन्नत संखुवासभा, समृद्ध नेपाल’ नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डा.कार्कीले संखुवासभाकै माटोमा जन्मिएर, हुर्किएर देश विदेशमा विभिन्न जिम्मेवारी निर्वाह गरेपछि आफ्नै गाउँठाउँ र जिल्लाको विकास गर्ने हुटहुटीका साथ प्रत्यक्ष राजनीतिमा प्रवेश गरेको बताए।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, पूर्वाधारलगायत क्षेत्रको समग्र विकासको खाकासहित निर्वाचनको मैदानमा उभिएको जानकारी दिए।

डा.कार्कीले संखुवासभावासीको विकास र रूपान्तरणको आकांक्षालाई संघीय संसदमा सशक्त रूपमा उठाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको आफ्नो सम्पर्क र संजाललाई जिल्लाको विकासमा परिचालन गर्ने संकल्प लिएको जनाए।

डा.कार्की नेपालका अनुभवी राजनीतिक नेता, कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन्। उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

संखुवासभाको गौरवका रूपमा हेरिने डा.कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्।

उनी राष्ट्रिय विकास परिषद्को सदस्यका रूपमा नेपालको दीर्घकालीन विकास नीति, योजना तथा राष्ट्रिय प्राथमिकता निर्धारण प्रक्रियामा प्रत्यक्ष रूपमा संलग्न रहँदै आफ्नो जन्मथलो संखुवासभासहित मुलुकका विभिन्न जिल्ला र क्षेत्रको विकासमा योगदान गर्दै आएका छन्।

सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रियस्तरमा सक्रिय पैरवी गर्ने प्रमुख व्यक्तित्वमध्ये एक डा.कार्की निरंकुश शासनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक शासन पुनःस्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियनलगायत बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गरेका डा.कार्की अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहना संघीय संसदमा सुनाउन चाहन्छन्। ‘म बाँकी जीवन आफू जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु,’ उनले भने।

प्रकाशित: २० माघ २०८२ १५:३७ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast