नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति पौडेल

हिमाल प्रेस १९ माघ २०८२ १२:०७ | Monday, February 2, 2026
8
SHARES
नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ : राष्ट्रपति पौडेल जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरे।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आह्वान गरेको शीतल निवासले जनाएको छ। उनले जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेको बताए।

‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पुँजी फिर्तीका लागि सहज प्रक्रियाहरूसहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौँ। नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ’, राष्ट्रपति पौडेलले भने।

उनले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए। राष्ट्रपति पौडेलले गौतम बुद्धको दर्शनले हामी आह्लादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उनको भनाइ थियो।

पौडलले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे। उनले भने, ‘नेपालमा लगानी गरे धन पनि हुन्छ! धर्म पनि हुन्छ।’

सो अवसरमा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले स्वागत गरेका थिए भने परराष्ट मन्त्रालयका सचिव अमृत राई र सहसचिब भृगु ढुंगानाले नेपालमा लगानीको सम्भाव्यताबारे प्रस्तुति दिएका थिए। जापानी व्यापारिक समुदायका कतिपय सदस्यहरुले नेपालमा यति धेरै लगानीको अवसर रहेको थाहा पाउँदा खुसी लागेको र यसले लगानीको ढोका खोल्न योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: १९ माघ २०८२ १२:०७ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast