पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

हिमाल प्रेस १९ माघ २०८२ १२:०८ | Monday, February 2, 2026
18
SHARES
पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

काठमाडौँ- संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै जीतेन्द्रले जेनजी आन्दोलनको मर्मलाई नबुझी पार्टीले विदेशी षड्यन्त्रको रूपमा व्याख्या विश्लेषण गरेको र यसै अनुरूप पार्टी पंति प्रस्तुत भइरहेको भन्दै असहमति जनाउँदै आफुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘विगत लामो समय देखि देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाको आम विदेश पलायनको विरूद्धमा आक्रोशको विष्फोट थियो भदौ २३ गतेको जेन जी विद्रोह। यसलाई यसै रूपमा नबुझी वा बुझ्न नचाही आफू सच्चिन र पार्टीलाई सच्चाउने दिशामा लाग्नुको सट्टा यसलाई ‘विदेशी षड्यन्त्र’ देख्ने, पार्टीलाई व्यक्तिवाद् र देवत्वकरण तिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गर्ने विचार नीति तथा व्यवहारसँग असहमत भई आजैको मितिदेखि नेकपा एमाले परित्याग गरेको घोषणा गर्दै सबै सम्वद्ध पक्षलाई यस विषयको सार्वजनिक जानकारी गराउँदछु।’ उनी वाम वुद्धिजीवीका रूपमा परिचित छन्।

उनी कांग्रेसबाट एमाले प्रवेश गरेका थिए। अब पनि जीतेन्द्र कांग्रेस प्रवेश गर्ने अनुमान भइरहेको छ। उनी यसअघि कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बने। उनी संस्कृति, पर्यटनमन्त्री समेत बने। उनको राजनीतिक स्थायित्व छैन। उनी कुनैबेला एमालेमै थिए। वामदेव गौतमले एमाले फुटाउँदा उनी नेकपा मालेमा गए।

२०५९ सालमा उनले एमाले छाडेका थिए। २०६३ सालको मधेश आन्दोलनपछि एमाले छाडेर मधेशी जनअधिकार फोरममा लागेका थिए। फोरम विभाजनबाट बनेका लोकतान्त्रिक फोरममा समेत लागेर सांसद बनेका उनी २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेका थिए। त्यहीबेला उनी राष्ट्रियसभा सदस्य समेत बने। त्यसपछि उनी एमालेमा प्रवेश गरे।

प्रकाशित: १९ माघ २०८२ १२:०८ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast