नागरिकलाई मतदाता नामावलीकै चिन्ता

हिमाल प्रेस १८ माघ २०८२ १९:३१ | Sunday, February 1, 2026
10
SHARES
नागरिकलाई मतदाता नामावलीकै चिन्ता

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीका बारेमा जिज्ञासा राख्ने गरेका छन्।

निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा माघ १७ गतेसम्म एक हजार ६७७ जिज्ञासा तथा प्रश्न प्राप्त भएकामा मतदाता नामावलीसम्बन्धी ९०६ वटा रहेका छन्।

निर्वाचन आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५७५ वटा रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

हानिकारक सूचना पहिचान र कारबाही सिफारिसलाई पनि आयोगले प्राथमिकताका साथ अघि बढाएको छ। निर्वाचन आचारसंहिताको उल्ल‌ंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको प्रवक्ता भट्टराईले बताए।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा यसमा क्रियाशील भएको छ। हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक/सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ। छ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको प्रवक्ता भट्टराईले बताए।

त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

निजी क्षेत्रका संघसंस्थासँग छलफल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निजी क्षेत्रको भूमिका र दायित्व विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल, होटल एसोसिएसन नेपाल, होटल तथा बार एसोसिएसन नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका प्रमुख तथा प्रतिनिधिहरूसँग यसै हप्ता छलफल गरिएको थियो।

उक्त छलफलमा सबै संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् समावेशी बनाउनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनाका साथै आ–आफ्नो क्षेत्रले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।

सचेतना सामग्रीको उत्पादन एवम् प्रचारप्रसार

निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म जम्मा १५८ सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने विश्वास गरिएको छ। यसबाट मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

निर्वाचनका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यही माघ १५ गते आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवम् संयुक्त राष्ट्र संघीय निकायका प्रमुख तथा प्रतिनिधिलाई जानकारी गराइएको छ।

कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको थियो।

आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको प्रवक्ता भट्टराईले बताए। रासस

प्रकाशित: १८ माघ २०८२ १९:३१ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast