नेपालगन्ज- निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी सुरु गरिएको छ। निर्वाचन आयोगले गठन गरेको निर्वाचन आचारसंहिता अनुगमन समितिले बाँकेको निर्वाचन क्षेत्र नं २ र ३ मा मौखिक उजुरी आएको जानकारी दिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले विद्यालयमा कार्यक्रम गरेको, पालिका वडाध्यक्षले पालिकामा प्रचारप्रसार गरेको र पालिकाको डोजर तथा टिपर प्रयोग गरेर सडक ग्राभेल गरेकोलगायत उजुरी आएको बताए।
उनले आचारसंहिताविपरीत सबै काम बन्द गरिएको उल्लेख गर्दै सम्बन्धितलाई सचेत बनाइएको जानकारी दिए। ‘हामीले स्थलगत अनुगमन पनि गर्छौं, तर अहिले सूचना र जानकारी आएका आधारमा हामीले काम गरिरहेका छौँ’, निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत खत्रीले भने।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष भयरिहत वातावरणमा सम्पन्न गराउने उदेश्यले निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन समितिले जिल्लामा आग्रह गरेको छ।
निर्वाचन आयोगले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्री र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख सर्वोदय उपाध्यायलाई अनुगमन अधिकृतका रूपमा तोकेको छ।
अनुगमन समितिका अनुसार निर्वाचन प्रचारप्रसारको काम आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै गर्न पाउने कानुनी प्रावधान रहेको छ।
निर्वाचन आयोगद्वारा जारी भएको निर्वाचन आचारसंहिता माघ ४ गतेदेखि नै लागु भएको छ।



