काठमाडौँ- कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई कानुनी व्यवस्था र श्रम अधिकारबारे सचेत गराउने उद्देश्यले नेपाली राजदूतावासले विशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा श्रमका विविध पक्ष र महत्वपूर्ण कानुनी प्रावधानहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले नेपाली नागरिकहरुलाई सूचना र कानुनमा जानकारी बनानउनु दूतावासको प्राथमिकता रहेको बताए।
सामूहिक हितका लागि सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताउँदै उनले यसका लागि दूतावास नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्न सधैँ तत्पर रहेको उल्लेख गरे।
उनले नेपाली श्रमिकहरुको हित र सुरक्षालाई ध्यानमा राख्दै दूतावासले सरल सेवा प्रवाह गरिरहेको बताए। श्रमिक प्रतिनिधिहरूसँगको छलफलमा प्राप्त सुझावलाई दूतावासले यथाशाक्य कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूबीच दूतावासको सेवा प्रवाहमा देखिएका चुनौती र समाधानका उपयबारे गहन छलफल भएको थियो। कुवेतमा उपलब्ध रोजगारीका अवसरहरु, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन चालिनुपर्ने कदम तथा आगामी रणनीतिका विषयमा पनि सहभागीहरूले आफ्नो धारणा राखेका थिए।



