जसले काउन्टर प्रस्ताव ल्याए उसैका लागि भोट माग्दै गगन

हिमाल प्रेस १६ माघ २०८२ २१:२४
32
SHARES
जसले काउन्टर प्रस्ताव ल्याए उसैका लागि भोट माग्दै गगन

काठमाडौँ- पार्टीको १५ औँ महाधिवेशन गर्ने सन्दर्भमा नेपाली कांग्रेस लामो समय विवादमा रुमलियो। फागुन २१ का लागि तोकिएको निर्वाचनअघि वा त्यसपछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र ठूलो विवाद देखिएको थियो।

तत्कालीन संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा थियो भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा  पुसभित्र महाधिवेशन गर्नुपर्ने अडानमा थिए। पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने चेतावनीसमेत थापा र शर्माको थियो।

त्योबेला केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुसमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याउँदा तत्कालीन सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा महाधिवेशन गर्ने ‘काउन्टर’ प्रस्ताव ल्याए। बैठकमा दुईवटा प्रस्ताव भएपछि महाधिवेशनको कार्यतालिका तय गर्ने विवाद थप चुलियो।

संस्थापनले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय बहुमतले गरेपछि महामन्त्रीहरूको अगुवाइमा विशेष महाधिवेशन अगाडि बढ्यो। विशेष महाधिवेशनबाट तत्कालीन महामन्त्री थापा पार्टीको नयाँ सभापति चुनिए।

विशेष महाधिवेशनमार्फत सभापतिलगायतका नयाँ कार्यसमिति चुनिएलगत्तै कांग्रेस चुनावमा होमियो। महाधिवेशनको तिक्तताका कारण यो चुनावमा पनि कांग्रेसको पुरानो ‘रोग’ अन्तरघात देखिने संशय पार्टीकै नेताहरूमा देखिएको छ।

सभापति थापाले बदलिएर आएको कांग्रेसमा गुट अन्त्य भइसकेको दाबी गरेका छन्। थापाले यो दाबी महाधिवेशनसम्बन्धी आफ्नो प्रस्तावका विरुद्ध ‘काउन्टर’ प्रस्ताव ल्याउने तत्कालीन सहमहामन्त्री महेन्द्र यादवको निर्वाचन क्षेत्र धनुषा-४ मा पुगेर गरेका हुन्। यादव उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्।

सर्लाहीबाट काठमाडौँ फर्किने क्रममा धनुषा पुगेका उनले क्षेत्र नम्बर ४ लक्ष्मीनियाँमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नयाँ सोच र शैलीका साथ आएको पार्टीमा गुट सकिएको बताए। यति मात्रै होइन, थापाले यादवको प्रशंसा पनि गर्न भ्याए।

‘पार्टीभित्रका आन्तरिक कुरामा हामी फरक ठाउँमा उभियौँ, धेरैखाले मतमतान्तर रह्यो,’ सभापति थापाले भने, ‘यो स्वाभाविक हो। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पनि यो स्वाभाविक थियो। जब मधेश र विकासको मुद्दा आयो- हामी एकै ठाउँमा उभियौँ, महेन्द्रजीलाई मैले निडर नेताका रूपमा चिनेको छु।’

सभापति थापाले पार्टीमा गुटको अन्त्य भएको भन्दै कांग्रेस कार्यकर्ता भएर चुनावमा होमिन अपिल गरे। उनले भने, ‘पार्टीभित्र कुनै गुट छैन, मनमा एउटा पनि कुरा नराखेर काम गरिदिनुहोला, कांग्रेस कार्यकर्ता भएर निर्वाचनमा जुटिदिनुहोला।’

महाधिवेशनबाट तुरुन्तै आएकाले आन्तरिक कलह होला भनेर  लागे पनि त्यो सब केही नरहेको उनले बताए। पार्टी एकढिक्का रहेको सभापति थापाको भनाइ छ। ‘महाधिवेशनबाट भर्खर आएका छौँ, पार्टीभित्र कुनै पनि द्वन्द्व छैन, पार्टी एक भइसकेको छ, सबैजना एकढिक्का छौँ,’ थापाले भने, ‘द्वन्द्व छ, अलमल छ भन्ने कुरा सबैले निकालेर फालिदिनुस्। म निरन्तर शेरबहादुर दाइ र अन्य श्रद्धेय नेताहरूसँग संवादमा छु।’

उनले नयाँ पार्टीलाई मत हाल्ने मतदातालाई बदलिएर आएको कांग्रेसमा मतदान गर्न आग्रह गरे। ‘नयाँ पार्टीलाई मत हाल्छु भन्ने मतदातालाई भन्नुस् महाधिवेशन गरेर आएको पार्टी कांग्रेस हो, पुरानो भन्ने कुरामा हामीलाई गौरव छ, इतिहास र परम्परा खराब हुँदैन,’ उनले भने, ‘भदौ २३-२४ को घटनाबाट देश चलाउने तरिका बदल्नुपर्छ नागरिकबाट व्यक्त भयो, यसका लागि कांग्रेस पनि बदलिएको छ, अरु पार्टी बदलियो बदलिएन थाहा भएन, हामी बदलिएर आएका छौँ, हामी सबै एकै ठाउँमा छौँ, तर सोच बदलेका छौँ।’

सभापति थापाले काठमाडौँमा सुरक्षित क्षेत्र हुँदाहुँदै आफू सोचविचार गरेर मधेशबाट चुनाव लड्न आएको बताए। कांग्रेसले सोचविचार गरेर सभापतिलाई मधेशमा उम्मेदवार बनाएको भन्दै उनले पाँच वर्ष मधेशको मुद्दा कांग्रेसले बोक्न चाहेको उल्लेख गरे।

‘म सोचविचार गरेर मधेश आएको हुँ, निर्वाचन क्षेत्र नभएर यहाँ आएको होइन, राम्रो र सुरक्षित निर्वाचन क्षेत्र छोडेर आएको छु,’ उनले भने, ‘मधेश नेपालको केन्द्र र मुटु हो भनेर यहाँ आएको, कांग्रेसका लागि जननी यो हो, कतिपय कुरामा चुकेका छौँ, त्यसलाई सुधार गर्नुपर्छ, हिजोका गल्तीहरुलाई स्वीकार गरेर नयाँ ढंगबाट अगाडि बढ्न चाहन्छौँ।’

सभापति थापाले कांग्रेस ध्वंस गर्ने पार्टी नभएर देश सम्हाल्ने शक्ति भएको बताए। ‘हामी देश जोड्ने पार्टी हो, देशलाई सम्हाल्ने पार्टी हो, ध्वंश गर्ने पार्टी होइन, हामी उत्तेजना फैलाउने पार्टी होइन, कांग्रेस भनेको सम्हाल्ने शक्ति हो, यो जानकी माताको ठाउँ हो,’ थापाले भने, ‘यो ठाउँको प्रत्येक घरमा तपाईँले सन्देश पठाउनुपर्छ–हामीलाई ध्वंश गर्ने शक्ति होइन, हामीलाई उचाल्ने शक्ति होइन, हामीलाई सम्हाल्ने शक्ति चाहिएको छ, मिलाउने शक्ति चाहिएको छ, कांग्रेसले देशलाई सम्हाल्छ व्यवस्थालाई सुधार्छ।’

प्रकाशित: १६ माघ २०८२ २१:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast