सिन्धुपाल्चोकमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा

हिमाल प्रेस १५ माघ २०८२ १४:०४
116
SHARES
सिन्धुपाल्चोकमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरीमाथि यौनजन्य दुर्व्यवहार आरोपमा मुद्दा अघि बढाइएको छ। गिरीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप पुष्टि भएपछि कानुनी कारबाहीका लागि मुद्दा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यले बिहीबार हिमालप्रेसलाई जानकारी दिए।

आचार्यले भने, ‘शिक्षक गिरीले छात्रामाथि अमर्यादित दुर्व्यवहार गरेको भनी उजुरी परेपछि हामीले दुवै पक्षमाथि अनुसन्धान गर्‍यौँ। शिक्षक जितराज गिरीले यौनजन्य दुर्व्यवहार गरेको पुष्टि भयो। त्यससम्बन्धी मुद्दा अगाडि बढाइसकेका छौँ।’

आचार्यका अनुसार माघ १२ गते साँझ पेन्सिल किन्न विद्यालय नजिकैको स्टेसनरी पसलमा गएकी छात्रामाथि विद्यालयका शिक्षक जितराज गिरीले यौनजन्य दुर्व्यवहार गर्ने प्रयास गरेको उजुरी पीडित परिवारले दिएको थियो। आरोपित गिरीले स्टेसनरी पसल सञ्चालन गर्दै आएका छन्।

माघ १४ गते विद्यालय परिसरमा ३०० भन्दा बढी अभिभावक भेला भई दोषीमाथि कारबाहीको माग गरेका थिए। अनुसन्धानका क्रममा घटनामा प्रधानाध्यापक ध्रुवराज गिरीसँग पनि सोधपुछ गरिएको आचार्यले बताए। उनले भने, ‘घटनामा अन्य शिक्षक् संलग्न रहेको पाएका छैनौँ। अनुसन्धान जारी छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast