हात हल्लाएर फोटो खिचाउने चटक गर्न सर्लाही आएको छैन : गगन थापा

हिमाल प्रेस १२ माघ २०८२ १८:०० | Monday, January 26, 2026
46
SHARES
हात हल्लाएर फोटो खिचाउने चटक गर्न सर्लाही आएको छैन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको अंग बन्न सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्। मनोनयन दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका थापाले नेता कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

सर्लाही आउनुअघि कतिपयले स्थानीय भाषाको एक दुई लाइन सिकेर जान भने पनि आफू चटके नबन्ने जवाफ दिएको उनले बताए।

‘मलाई साथीहरुले भन्नु भएको थियो यहाँको भाषाको दुईटा लाइन भए पनि सिकेर जानुपर्छ, मैले भने म त्यो चटकेजस्तो काम गर्दिनँ, म यहाँको भइसकेपछि यहाँको भाषा सिक्छु, यहाँको रहनसहन सिक्छु, यहाँको महोत्सव यहाँको पर्व सबैसँग भिज्छु, म त सिक्न आएको, म त तपाईँहरूको हुन आएको,’ सभापति थापाले भने,‘ म एकछिन आएर हात हल्लाएर फोटो खिचाउन आएको होइन, म तपाईँहरुकै हुन आएको, म तपाईँहरुको अंग हुन आएको अंश हुन आएको, तपाईँहरुभित्र समाहित हुन आएको, मधेशभित्र म पनि छ देश पनि छ, त्यसैले म एक दुईटा लाइन कण्ठ गरेर हात हल्लाएर फोटो खिचेर जान्न, म तपाईँहरुको बीचमा बस्छु।’

उनले आफ्नो १५ वर्षको अनुभव सर्लाही–४ मा लगाउन चाहेको बताए। थापाले भने,‘ मेरो १५ वर्षको सारा अनुभव यहाँ लगाउन चाहन्छु, शिक्षामा स्वास्थ्यमा यत्रो वर्ष काम गर्दैगर्दा मैले जे आर्जन गरेको छु, मैले जे समूह बनाएको छु, जे जस्तो सम्बन्ध बनाएको छ त्यो सबै कुरा मेरो सर्लाही क्षेत्र नम्बर ४ मा लगाउन चाहन्छु।’

सभापति थापाले कांग्रेसलाई मत दिने मतदाताको शिर निहुराउने अवस्था आउन नदिने उल्लेख गरे। ‘म विश्वास दिलाउन चाहन्छु यो निर्वाचन क्षेत्रको एक जना मतदाताले पनि फागुन २१ गते हुने निर्वाचनमा गाछी चिह्नमा मतदान गरेर शिर निहुराउने अवस्था आउन दिँदिन,’ उनले भने।

शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा उदाहरणीय काम गर्ने बताउँदै उनले सर्लाहीका युवाहरूसँग मिलेर काम गर्न चाहेको उल्लेख गरे।

प्रकाशित: १२ माघ २०८२ १८:०० | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast