अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

हिमाल प्रेस १२ माघ २०८२ १२:१३ | Monday, January 26, 2026
22
SHARES
अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

काठमाडौँ- रंगमञ्च र फिल्मको पर्दामा आफ्नो जीवन्त अभिनयका कारण दर्शकको मन जित्न सफल अभिनेता विजय बराल अब नयाँ भूमिकामा देखिएका छन्।

फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका विजयले ‘विधिको शासन’ बोलको गीतमार्फत गायनमा डेब्यु गरेका हुन्।

गीत वर्तमान राजनीतिक व्यवस्था र विसंगतिविरुद्ध छ। शौरभ कार्कीको शब्द रहेको गीतमा प्रशान्त शिवाकोटीले संगीत भरेका छन्।

गीतले देशको समसामयिक राजनीतिक अवस्थालाई चित्रण गरेको छ। विशेषगरी, गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसले उठाएका मुद्दाहरूलाई गीतको मूल मर्म बनाइएको छ।

२०४० सालको जनआन्दोलनदेखि २०६२/६३ को परिवर्तन हुँदै पछिल्लो समयका युवा विद्रोहसम्मका भावनालाई गीतमा समेटिएको छ।

आफ्नो पहिलो गायन अनुभवबारे विजय बराल भन्छन्, ‘मैले गाएको यो पहिलो गीत हो। वास्तवमा म गायक होइन, तर साथीहरूले यस विषयमा तपाईंको स्वर सुहाउँछ, गाउनुपर्छ भनेर हौसला दिनुभयो। साथीको विश्वासलाई आत्मसाथ गर्दै एउटा प्रयास गरेको हुँ।’

उनले थपे, यो गीत कसैको व्यक्तिगत विरोध वा समर्थनमा होइन। यो त केवल सत्ता र प्रणालीलाई गरिएको एउटा व्यङ्ग्य र खबरदारी हो। देशमा कसरी सुनौला सपनाहरू खरानी भइरहेका छन् र फेरि आशाको दियो कसरी बाल्न सकिन्छ भन्ने यसको मुख्य उद्देश्य हो।’

मनिष राउतको अवधारणामा तयार पारिएको भिडियोमा नेपालका विभिन्न राजनीतिक क्रान्तिका वास्तविक तस्बिर र फुटेजहरू प्रयोग गरिएको छ।

प्रकाशित: १२ माघ २०८२ १२:१३ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast