आन्तरिक कलह र अन्तरघातको चेपुवामा ठूला दल

किरण पौडेल १२ माघ २०८२ १०:४३
18
SHARES
आन्तरिक कलह र अन्तरघातको चेपुवामा ठूला दल

काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनका लागि दल/उम्मेदवारको टुंगो लागेको छ। उम्मेदवारहरू मतदातासँगको परिचयात्मक भेटघाटमा सक्रिय भएका छन्। यद्यपि कुनै  पनि दलले चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन्।

नयाँ दलको निर्णायक प्रवेशका कारण ठूला एवं पुराना दल दबाबमा परेका छन्। भदौ २३ को जेनजी आन्दोलनपछि पुरानाप्रति आक्रोश थपिएको छ भने वैकल्पिक शक्ति आउनुपर्ने दबाब बढेको छ। तत्कालीन केपी शर्मा ओली सरकार गिरेपछि नागरिक सरकार अर्थात् गैरदलीय सरकार बन्यो। तर पुराना दलहरूसमेत आफूलाई ‘नवीकरण’ गर्दै चुनावमा होमिएका छन्।

उनीहरूलाई नयाँ शक्तिको दबाब भए पनि आफैँभित्र पनि असन्तुष्टि बढेको छ। ठूला दलभित्रको असन्तुष्टिले आगामी चुनावमा धक्का लाग्ने सम्भावना रहेको विश्लेषकहरू बताउँछन्। किनभने ठूला दलहरू अहिले आन्तरिक असन्तुष्टिका बीच चुनावमा होमिँदै छन्।

नेपाली कांग्रेस 

जेनजी आन्दोलनपछि सबैभन्दा बढी आन्तरिक असन्तुष्टि देखिएको पार्टी हो, नेपाली कांग्रेस। महाधिवेशन गर्नेे-नगर्ने विवादबाट सुरु भएको कांग्रेसको विवाद दुई धारमा विभाजित भयो।

तत्कालीन सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन वैशाखमा मात्र गर्ने निर्णय गर्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट बनेका थिए। महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसले विशेष महाधिवेशन गर्‍यो। विशेष महाधिवेशनमा देउवा र शेखर समूहले सहभागिता जनाएनन्।

विशेष महाधिवेशनले गगनलाई सभापति घोषणा गर्‍यो। विभाजनपछि दुवै समूह निर्वाचन आयोगमा पुगे। आयोगले विशेष महाधिवेशनलाई मान्यता दियो। कांग्रेसको विवाद त्यतिमा सीमित भएन।

देउवा पक्ष आयोगको निर्णयविरुद्धमा सर्वोच्च अदालत गयो। अदालतले अन्तरिम आदेश नदिँदा विशेष महाधिवेशनको आधिकारिकता कायम भयो। यो विवादका कारण आगामी चुनावमा कांग्रेसलाई धक्का पुग्ने नेताहरूले बताएका छन्। कांग्रेसका केही शीर्ष नेताहरू यसपटक चुनावी मैदानमा छैनन्।

लामो समयदेखि जित्दै आएका देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्कासहितका नेताहरू टिकटबाट वञ्चित भए। यसअघि चुनाव जितेका धनराज गुरुङ, रामहरि खतिवडा, मोहनबहादुर बस्नेत, श्यामकुमार घिमिरे पनि मैदानमा छैनन्। कांग्रेसमा अन्तरद्वन्द्वका कारण अन्तर्घात हुने क्रम नयाँ होइन। २०७९ को चुनावमा अन्तरघात भएका कारण १९ नेताहरू कारबाहीमा परेका थिए। कारबाहीमा पर्नेहरूमा केन्द्रीय नेता ( ११ केन्द्रीय सदस्य, एक प्रदेशसभापति र सात जिल्ला सभापति) समेत परेका थिए।

कांग्रेसको अनुशासन समितिले उनीहरूलाई कारबाही गरेको थियो। विशेष महाधिवेशन ताका बसेको केन्द्रीय समिति बैठकले कारबाही फुकुवा गरिसकेको छ। कांग्रेसका नेताहरू यसपल्ट अन्तरघात नहुने दाबी गर्छन्। ‘यसपटक त्यस्तो हुन्न। हामी सबै एक भएर लड्ने हो,’ कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेही रसाइली भन्छन्, ‘हामी गगन थापालाई प्रधानमन्त्री जिताउने गरी खटिएका छौँ। कांग्रेसले बहुमत ल्याउँछ।’

रसाइलीको भनाइ त्यति पत्यारलाग्दो छैन। किनभने केही दिनपछि बस्नेगरी कांग्रेसको देउवा खेमाले राष्ट्रिय भेला आयोजना गर्दै छ। देउवा निकटस्थ नेताहरूका अनुसार राष्ट्रियसभा चुनावलगत्तै शक्ति बुझ्नका लागि देउवाले भेला राख्न लागेका हुन्। स्नेही सोही भेला पनि कांग्रेसलाई दह्रो बनाउनकै लागि बस्न लागेको दाबी गर्छन्। ‘कांग्रेसले बोलाएको भेला कमजोर बनाउन हुन्न। कांग्रेस बलियो बनाउनलाई नै हो’, उनी भन्छन्।

कांग्रेस तीन समूहमा विभाजित छ। एकातिर देउवा र अर्कातिर थापा समूह हुँदा मझदारमा नेता शेखर कोइराला समूह देखिएका छन्। कोइराला देउवा खेमामा नपरे पनि यसअघि पार्टी फुट्ने दाबी गर्दै थापा समूहसँग विशेष महाधिवेशनमा जान चाहेनन्। देउवा खेमा त गगनलाई भाबी प्रधानमन्त्री घोषणा गरेकैमा असन्तुष्ट छ। देउवा निकटस्थ मीन विश्वकर्माले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु गलत भएको बताएका छन्।

एमाले

जेनजी आन्दोलनपछि एकदमै अलोकप्रिय बनेको पार्टी हो, एमाले। भदौ २३ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलिकप्टरमा ओली भागेका थिए। सोही कारण एमालेप्रति जनमानसमा सकारात्मक प्रतिक्रिया छैन। यसैबीचमा एमालेले महाधिवेशन गरेर आफूलाई ‘नयाँ’ सावित गर्‍यो। तर अध्यक्षमा ओली दोहोरिएपछि जनमानसमा असन्तुष्टि चुलिएको जानकारहरूको दाबी छ।

ओली जेनजी आन्दोलनलाई विध्वंस भएको अभिव्यक्ति दिइरहेका छन्। त्यसो त, उनीविरुद्ध वैकल्पिक शक्ति मानिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालने साह चुनाव भिड्दैछन्। ओली–बालेन भिडन्तले झापा ५ को राजनीतिक पारो तातेको छ। यसरी पार्टी बाहिरका शक्तिसँग जुधिरहेका ओली पार्टीभित्र पनि सर्वसम्मत नेता होइनन्।

महाधिवेशनमा उनीविरुद्ध ईश्वर पोखरेल नेतृत्वको प्यानल भिडेको थियो। ओलीले प्रतिनिधिसभा सदस्यको टिकट वितरणमा आफू अनुकूल काम गरेका कार्यकर्ताले मात्रै समेटेको नेताहरूको बुझाइ छ। उनले ताप्लेजुङमा योगेश भट्टराई, चितवन १ मा सुरेन्द्र पाण्डे र काभ्रे २ मा गोकुल बास्कोटालाई आफ्नो विपक्षमा हिँडेको भन्दै टिकटबाट वञ्चित गराए। यसबाहेकका धेरै नेतालाई पनि आफू अनुकूल जिम्मेवारी दिएनन्।

एमालेले ओलीलाई भाबी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गरेको छ। तर एमालेकै नेताहरूसमेत ओलीलाई हेरेर जनताले मत नहाल्ने बताउँछन्। यसअघि पनि एमालेले अन्तरघातको पीडा भोगेको थियो। लुम्बिनीमा शंकर पोखरेल र विष्णु पौडेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी, बागमतीमा महेश बस्नेत र गोकुल बास्कोटाजस्ता आन्तरिक प्रतिस्पर्धाले मत घट्ने अनुमान छ।

एमाले नेताहरू भने पार्टीको असर चुनावमा नदेखिने दाबी गर्छन्। ‘यसपटक राष्ट्रियको विषय लिएर चुनावमा जाँदै छौँ। कसैले पनि पार्टी बिगार्ने काम गर्ने छैनन्’, एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाही भन्छन्, ‘हामीले अराष्ट्रिय शक्ति र तत्त्वलाई हराउन पनि पार्टी एक हुनैपर्छ।’

नेकपा

विघटित प्रतिनिधिसभाको तेस्रो दल माओवादी केन्द्र एकीकृत समाजवादीसहितका १८ दल मिलेर नेकपा बनेको छ। देशभर १६४ ठाउँमा उम्मेदवारी दिएको नेकपा यसपल्ट एक्लै मैदानमा छ। विगतका दुई चुनाव गठबन्धन गरेका प्रचण्ड यसपटक एक्लै भिड्न रुकुमपूर्व पुगेका छन्।

नेकपाले समानुपातिक र प्रत्यक्ष उम्मेदवार निष्पक्ष छान्न निकै कसरत गरे पनि विवाद भएरै छाड्यो। समानुपातिकमा अखिल क्रान्तिकारीकी पूर्व अध्यक्ष पञ्चा सिंहको नाम हटाएर बलावती शर्माको नाम राखेपछि तीव्र विवाद भएको छ। शर्माको नाम अगाडि राखेपछि अन्य महिलाको नाम पछि परेका कारण असन्तुष्टि बढेको छ। अर्कातिर वामदेव गौतमलाई टिकटबाट वञ्चित गरेपछि थप विवाद देखिएको छ। राष्ट्रियसभाबाट राजीनामा गरेका गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पाएनन्।

सिन्धुली २ मा उत्पन्न विवादका कारण संयोजक प्रचण्डले आठ नेतामाथि कारबाही गरेका छन्। प्रचण्डले राजन दाहाललाई टिकट दिएपछि सोही क्षेत्रमा असन्तुष्ट नेता महेश्वर दाहालले बागी हालेका छन्। महेश्वरका पक्षमा नेकपाका केन्द्रीय नेता हरिबोल गजुरेलसमेत खुलेका छन्।

यसले गर्दा पार्टीलाई धक्का लाग्ने नेताहरू बताउँदै आएका छन्। नेकपा प्रवक्ता अग्नि सापकोटा भने पार्टीका आन्तरिक समस्या सुल्झिँदै जाने बताउँछन्। उनले भने, ‘ठूलो पार्टी सामान्य समस्या हुनु स्वाभाविक हो।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसपटक ठूला दल आन्तरिक द्वन्द्वमा परेकाले अन्तरघातको सम्भावना बढ्ने बताउँछन्। दलहरूको आन्तरिक तिगडम बढ्नाले मतमा असर गर्ने उनको भनाइ छ। चुनाव नजिकिँदै गर्दा एकाएक एकताबद्ध भएको राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत यो समस्या सर्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast