समयमै दाबी भुक्तानी नहुनुले स्वास्थ्य बीमा प्रभावकारी हुन सकेन : स्वास्थ्यमन्त्री

हिमाल प्रेस ११ माघ २०८२ १५:३९ | Sunday, January 25, 2026
18
SHARES
समयमै दाबी भुक्तानी नहुनुले स्वास्थ्य बीमा प्रभावकारी हुन सकेन : स्वास्थ्यमन्त्री

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी नभएका कारण स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन समस्या भएको बताएकी छन्।

आफ्नो तीन महिने कार्यकालमा भएका कामकारबाहीका बारेमा जानकारी दिन आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन आफूहरूले पहिलो दिनदेखि नै कार्य सुरु गरे पनि विभिन्न समस्याका कारण सफल हुन नसकेको बताएकी हुन्।

स्वास्थ्य जोखिम उच्च भएका व्यक्तिको अधिक सहभागिता, अनावश्यक सेवा उपभोग, दाबी व्यवस्थापनमा कमजोरी लगायतका समस्या स्वास्थ्य बीमा क्षेत्रमा देखिएको उनले बताइन्।

मन्त्री गौतमले स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भएको र स्वीकृतिको प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न जनशक्ति तयार अवस्था रहे पनि भौतिक पूर्वाधारका क्षेत्रमा धेरै सुधार गर्न कठिन भएको उनको भनाइ छ।

उनले जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु, मानसिक, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य, खरिद तथा आपूर्ति व्यवस्थापन, औषधि प्रयोगशाला सुधार, स्वास्थ्य बीमा लगायतलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन्।

उनले मातृ मृत्यु सर्वेक्षणमा उच्च मातृ मृत्युदर रहेका लुम्बिनी, कर्णाली, गण्डकी र मधेश प्रदेशमा मातृ मृत्युदर कम गर्न विशेष ध्यान दिइएको भन्दै आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने धारणा राखिन्।

प्रकाशित: ११ माघ २०८२ १५:३९ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast