कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार, कति छन् मतदाता?

हिमाल प्रेस ११ माघ २०८२ १३:२७ | Sunday, January 25, 2026
10
SHARES
कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार, कति छन् मतदाता?

पोखरा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयको तथ्यांकअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको छ।

कास्की क्षेत्र नं १ मा कूल १७ जना उम्मेदवारमध्ये सबैभन्दा कम ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दैछन्।

यस क्षेत्रमा ११ जना ५० वर्ष मुनिमा उम्मेदवार रहेका छन्। क्षेत्र नं २ मा कूल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि ६५ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्दैछन्। यस क्षेत्रमा १२ जना उम्मेदवार ५० वर्षभन्दा कम उमेरका छन्।

त्यस्तै, क्षेत्र नं ३ मा कूल १५ जना उम्मेदवारमध्ये ३६ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन्। यस क्षेत्रमा छ जना उम्मेदवार मात्रै ५० वर्ष तलका छन्।

नवयुवादेखि ७० वर्षसम्मको उमेर समूहसम्मका उम्मेदवारबीच हुन लागेको प्रतिस्पर्धालाई अत्यन्त महत्वका साथ हेरिएको छ।

तीन निर्वाचन क्षेत्रमा कूल ४९ जनाले उम्मेदवारी दर्ता गराएकामा १८ राजनीतिक दलसहित छ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कूल ४९ उम्मेदवारमध्ये पाँच जना महिलाको मात्रै उम्मेदवारी परेको छ। अन्य सबै पुरुष छन्। जिल्लामा यसपटक अधिकांश उम्मेदवार नयाँ छन्।

कास्कीमा आसन्न निर्वाचनमा कूल तीन लाख आठ हजार ५७२ जना मतदाता रहेका निर्वाचनमा अधिकृतको कार्यालयले जनाएको छ।

यसअघि २०७९ को निर्वाचनमा दुई लाख ९१ हजार ५६८ जना मतदाता रहेकामा यसपटक १७ हजार चार जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ११ माघ २०८२ १३:२७ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast