सप्तरी २

पुराना ‘दोस्त’हरूबाटै घेराबन्दीमा सीके

धैर्यकान्त दत्त ७ माघ २०८२ २१:३८
14
SHARES
पुराना ‘दोस्त’हरूबाटै घेराबन्दीमा सीके

काठमाडौँ- संशय देखिएको फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने पक्का जस्तै देखिएको छ। मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएसँगै निर्धारित मितिमा चुनाव सम्पन्न हुने पक्का भएको हो।

मनोनयन दर्ता भएसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू मतदाता भेटघाटलाई तीव्रता दिएका छन् भने विभिन्नखाले रणनीति बनाउन व्यस्त छन्।

यसअघिका जस्तै आसन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशलाई चासोका साथ हेरिएको छ। बागमती प्रदेशपछि सबैभन्दा बढी मतदाता र निर्वाचन क्षेत्र भएकाले पनि प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा मधेशलाई चासोका साथ हेरिएको हो।

मतदाता संख्याको हिसाबले बागमती र मधेमा सामान्य अन्तर छ। त्यस्तै दुवै प्रदेशमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र पनि एकले मात्र फरक छ। बागमतीमा ३६ लाख ७६ हजार ६९७ र मधेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता छन्।

मधेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसपालि पाँचवटा निर्वाचन क्षेत्रमा रोचक भिडन्त हुने सम्भावना देखिएको छ। सप्तरीको निर्वाचन क्षेत्र नम्बर २, धनुषा निर्वाचन क्षेत्र नम्बर ३, धनुषा निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ र सर्लाही क्षेत्र नम्बर ४ मा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गरिएको हो।

कतिपय पुराना ‘हेभिवेट’ का साथै नयाँ उम्मेदवारहरूको ‘इन्ट्री’ हुँदा यी क्षेत्रहरूमा रोचक भिडन्त हुने निश्चित जस्तै छ। यसपटक सप्तरी-२ को भिडन्त रोचक हुने देखिएको छ। २०७९ सालको निर्वाचनमा पनि धेरैको ध्यान तानेको यो क्षेत्रलाई यसपालि पनि चासोका साथ हेरिएको छ।

अघिल्लो चुनावमा यही निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी ‘अजेययात्रा’ रोकिएको थियो। पहिलोपटक चुनावी राजनीतिमा होमिएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा नेपालका अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए।

योपटक पनि जनमत पार्टीका अध्यक्ष राउत यही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। उनलाई ‘टक्कर’ दिन यसपालि जसपा नेपालका अध्यक्ष यादव त छैनन्। तर आफ्नै पुराना सहयात्रीहरू चुनावी मैदानमा उत्रिएपछि सप्तरी-२ को चुनावी प्रतिस्पर्धा रोचक भएको छ भने राउतलाई सुखद परिणाम निकाल्न सकस पर्ने अनुमान गरिएको छ।

आफैँले प्रदेशको मुख्यमन्त्री बनाएका सतिशकुमार सिंह र जनमत पार्टीका तत्कालीन प्रवक्ता शरदसिंह यादव राउतसँग प्रतिस्पर्धामा उत्रिएका छन्। २०७९ सालको निर्वाचनमा जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका सिंहलाई अध्यक्ष राउतले मुख्यमन्त्री बनाएका थिए।

जेनजी प्रदर्शनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेर पद नछोडेपछि राउतले तत्कालीन मुख्यमन्त्री सिंहलाई पद छोड्न निर्देशन दिएका थिए। सिंहले निर्देशन मान्न अटेर गरेपछि पार्टी अध्यक्ष राउतसँग सम्बन्ध बिग्रिएको थियो। राउतसँग ‘खटपट’ गरेर जनमतबाट बाहिरिएका पूर्वमुख्यमन्त्री सिंह यतिबेला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

नेकपा एमालेको उम्मेदवारहरूको सूचीमा नाम रहे पनि सिंहले भने स्वाभिमान पार्टीबाट मनोनयन दर्ता गरेका छन्। जनमत पार्टीमा राउतसँग ‘खटपट’ चलिरहेका बेला उनले आफ्नो भाइको नेतृत्वमा यो पार्टी दर्ता गराएको बताइएको छ।

त्यस्तै जनमत पार्टीमा छँदा राउतका ‘विश्वासपात्र’ मध्ये एक थिए शरदसिंह यादव। अध्यक्ष राउतले उनलाई पार्टी प्रवक्ता बनाएका थिए। जनमतका कैयौँ नेताहरूले राउतको साथ छोड्दै अन्य पार्टीतर्फ लागि रहँदासमेत शरद भने उनीसँगै थिए। तर, जेनजी प्रदर्शनपछि राउतसँग उनको पनि सम्बन्ध बिग्रियो। उनले केहीअघि मात्रै आफ्नो नेतृत्वमा जनअधिकार पार्टी स्थापना गरेका छन्। शरदले आफ्नै पार्टीबाट सप्तरी–२ मा उम्मेदवारी दिएका छन्।

विगतका सहयात्रीहरू चुनावी मैदानमा उत्रिएर ‘घेराबन्दी’ मा परेका राउतलाई अघिल्लो चुनावको निकटतम प्रतिस्पर्धी जसपा नेपालको समेत सामना गर्नुपर्ने छ। जसपा नेपालले यसपालि यो क्षेत्रबाट पूर्वसिँचाइमन्त्री उमेश यादवलाई उम्मेदवार बनाएको छ। नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका उनी केही दिनअघि मात्र जसपा नेपाल प्रवेश गरेका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा तत्काली एकीकृत माओवादीबाट सप्तरी–३ बाट निर्वाचित भएका उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उपेन्द्र यादवसँग पराजित भएका थिए।

तिनै उमेशलाई जसपा नेपालले यसपालि सप्तरी–२ मा उम्मेदवार बनाएको छ। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सिंह, जनमत पार्टीका तत्कालीन प्रवक्ता शरदलगायतका आफ्नै पुराना सहकर्मीहरू चुनावी मैदानमा उत्रिएपछि गत चुनावजस्तो सुखद परिणाम निकाल्न राउतलाई सहज नहुने स्थानीय मतदाताहरू बताउँछन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले यो क्षेत्रमा युवा उम्मेदवार रामजी यादवलाई खडा गरेको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले माघ ५ गते जनकपुरधाम पुगेर सभालाई सम्बोधन गरेपछि रामजीको पक्षमा पनि मतदाताहरूको आकर्षण देखिन थालिएको स्थानीयहरूको भनाइ छ।

स्थानीय हेमकुमार सिंह सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धाको अनुमान गरिएको बताउँछन्। फागुन २१ को गते हुने निर्वाचनमा जसपा नेपाल, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने उनको भनाइ छ।

‘अहिलेसम्मको स्थितिलाई मूल्यांकन गर्ने हो भने त्रिपक्षीय प्रतिस्पर्धाको अनुमान गरेका छौँ,’ उनी भन्छन्,‘जनमत र जसपा नेपाल पुराना प्रतिस्पर्धी नै हुन्, यसपालि त रास्वपा पनि थपिएको छ। उसको पक्षमा पनि राम्रो माहोल देखिन्छ। त्यसैले त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ कि भन्ने छ।’

जनमत पार्टीका अध्यक्ष राउत भने यसपटक पनि जित निकाल्न समस्या नहुने दाबी गर्छन्। निर्वाचन क्षेत्रको विकास र जनताको समस्याका लागि काम गरेकोले मतदाताहरूले आफूलाई नै मत दिने उनको भनाइ छ। राउतले ५५ हजारभन्दा बढी मत ल्याएर जित्ने दाबी गरेका छन्।

पुराना सहकर्मीहरू चुनावी मैदान उत्रिँदैमा आफूलाई केही फरक नपर्ने राउतले बताएका छन्। उनी भन्छन्, ‘उहाँहरू कोही दुश्मन होइन। सबै जना राजनीतिक प्रतिस्पर्धा गर्न आएका छौँ। यसलाई सकारात्मक रुपमा लिनुपर्छ।’

राउतले ५५ हजारभन्दा बढी मत ल्याएर जित निकाल्ने दाबी गरिरहे पनि उनलाई त्यति सहज भने पक्कै छैन। स्थानीयहरू पूर्वमुख्यमन्त्री सिंह, पार्टीका तत्कालीन प्रवक्ता शरदको पनि आधार जनमत पार्टीकै मतदाता रहेका छन्। उनीहरूले पाउने मत जनमतकै भएकाले अघिल्लोपटक जस्तो यसपालि राउतलाई सहज नहुने भनाइ स्थानीयहरूको छ।

अघिल्लोपटक उपेन्द्र पराजित भए पनि सप्तरी–२ मा जसपा नेपालको बलियो पकड मानिन्छ। पुराना सहकर्मीहरू नै मैदानमा उत्रिएको फाइदा जसपा नेपालका उम्मेदवार उमेशलाई पुग्ने स्थानीयहरूको भनाइ छ। अघिल्लोपटक खासै प्रदर्शन गर्न नसकेको रास्वपाले पाउने मत पनि जनमतकै हुने बताइएको छ।

२०७९ सालको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउत ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका थिए। जबकि जसपा नेपालका अध्यक्ष उपेन्द्रले १६ हजार ९७९ मत ल्याएका थिए। राउत र उपेन्द्रले पाएको मतको मतान्तर १८ हजार ६३ थियो। त्यो चुनावमा महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टै उम्मेदवार खडा गरेको थियो। लोसपाबाट प्रतिस्पर्धा गरेका जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो भएका थिए। लोसपासँग गठबन्धन भएकोले अघिल्लो चुनावमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको थिएन।

यसपालि भने कांग्रेसले रामकुमार यादवलाई उम्मेदवार बनाएको छ। त्यस्तै एमालेबाट मोहम्मद जियाउल रहमान उम्मेदवार बनेका छन्। अघिल्लोपटक भने जसपा नेपालसँग गठबन्धन गरेको एमालेले भने त्यहाँ उम्मेदवार दिएको थिएन।

प्रकाशित: ७ माघ २०८२ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast