शीर्षनेता को कहाँबाट चुनाव लड्दैछन्?

हिमाल प्रेस ६ माघ २०८२ १०:२२ | Tuesday, January 20, 2026
24
SHARES
शीर्षनेता को कहाँबाट चुनाव लड्दैछन्?

काठमाडौँ- आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरूले आआफ्नो निर्वाचन क्षेत्र लगभग तय गरिसकेका छन्। आज उम्मेदवारी दर्ताको तयारीसँगै अधिकांश नेता सोमबार नै आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा मधेश केन्द्रित दलहरूले उम्मेदवार टुंग्याइसकेका छन्। कांग्रेस सभापति गगन थापा काठमाडौँ-४ बाट उम्मेदवारी दिँदै छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी नदिने बताएका छन्। उपसभापति विश्वप्रकाश शर्माले चुनाव लड्ने घोषणा गरेका छन् भने अर्का उपसभापति पूर्णबहादुर खड्काले चुनाव नलड्ने बताएका छन्। डा.शेखर कोइराला मोरङ-६ बाट चुनाव लड्दैछन्।

महामन्त्री प्रदीप पौडेल काठमाडौँ-५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। महामन्त्री गुरुराज घिमिरे मोरङबाट, उपसभापति पुष्पा भुसाल अर्घाखाँचीबाट उम्मेदवारी दिने तयारीमा छन्। नेता चन्द्र भण्डारी टिकट बोकेर गुल्मी पुगिसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचन लड्ने तयारीमा छन्। उनी सोमबार झापा पुगेर कार्यकर्ता तथा मतदातासँग भेटघाटमा व्यस्त छन्। एमाले उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही-२, गोकर्ण विष्ट गुल्मी-२ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएपछि उनीहरू पनि आआफ्नो क्षेत्रमा पुगिसकेका छन्।

महासचिव शंकर पोखरेल दाङ-२ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली-४ र रघुवीर महासेठ धनुषा-१ बाट चुनाव लड्दै छन्। पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी-१ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ-५ बाट उम्मेदवार बन्ने भएका छन्। सचिव महेश बस्नेत भक्तपुर-२ बाट उम्मेदवार बन्ने छन्। सचिव भानुभक्त ढकाल तेह्रथुम र शेरधन राई भोजपुर पुगेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन्। स्थायी निर्वाचन क्षेत्र नहुँदा दाहाल सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका हुन्। सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट उम्मेदवार बन्ने तयारीमा छन्। वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमले चुनाव नलड्ने घोषणा गरेका छन्।

नारायणकाजी श्रेष्ठ सर्लाही-३, भीम रावल अछाम-१, महिन्द्रराय यादव सर्लाही-२ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्दै छन्। चितवन-३ मा रेनु दाहाल उम्मेदवार बन्ने निश्चित भएको छ। कञ्चनपुर-१ मा विना मगर र धादिङमा राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने भएका छन्।

रास्वपाका सभापति रवि लामिछाने चितवन-२ बाट उम्मेदवारी दर्ता गराउँदै छन्। सांसद निर्वाचित भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा टुंगो नलागेसम्म उनी संसद् प्रवेश गर्न पाउने छैनन्। चितवन-१ मा हरि ढकाल र ३ मा सोविता गौतम उम्मेदवार बनेकी छन्। उनी काठमाडौँ-२ छाडेर चितवन पुगेकी हुन्।

रास्वपाका उपसभापति डीपी अर्याल काठमाडौँ-९, स्वर्णिम वाग्ले तनहुँ-१, महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा-२ र प्रवक्ता मनीष झा सिराहा-३ बाट निर्वाचन लड्दै छन्। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह झापा-५ बाट उम्मेदवार बन्दै छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई गोरखा-२ र प्रलोपा केन्द्रीय सदस्य जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवारी दिँदै छन्। श्रम संस्कृति पार्टीका तर्फबाट हर्क साम्पाङ सुनसरी-१ बाट उम्मेदवारी दर्ता गराउँदै छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट चुनाव लड्ने तयारीमा छन्। २०७९ को निर्वाचनमा उनी यही क्षेत्रबाट पराजित भएका थिए। जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी-२ बाटै उम्मेदवार बन्ने तयारीमा छन्। जसपा नेपालका शरदसिंह भण्डारी महोत्तरी-२ र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही-२ बाट निर्वाचन लड्नेछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन झापा-३ बाट उम्मेदवार बन्ने भएका छन्। राप्रपाकै कमल थापा काठमाडौँ-५ बाट उम्मेदवारी दिँदै छन्। राप्रपाकै उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौँ-१ बाट चुनाव लड्ने तयारीमा छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ-३ बाट उम्मेदवार बन्ने भएका छन्। निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल ललितपुर-२ बाट चुनाव लड्दै छन्। बब्लु गुप्ता मन्त्री पदबाट राजीनामा दिएर सिराहाबाट उम्मेदवारी दिँदै छन्। नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल बारा-४ बाट उम्मेदवार बन्ने भएका छन्।

प्रकाशित: ६ माघ २०८२ १०:२२ | Tuesday, January 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast