गोरखामा आइतबार नेताकार्यकर्तासँग चुनावी छलफलमा डा.बाबुराम भट्टराई। तस्बिर स्रोत : डा. भट्टराईको सचिवालय।
गोरखा- गोरखा क्षेत्र नम्बर २ बाट पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.बाबुराम भट्टराईलाई फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न नेताकार्यकर्ताले दबाब दिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखा जिल्ला इन्चार्ज यानप्रसाद भट्टका अनुसार डा. भट्टराईलाई गोरखा-२ बाट चुनाव लड्न नेताकार्यकर्ताहरूले निरन्तर दबाब दिएका हुन्। ‘डा.भट्टराई अहिले गोरखा नै हुनुहुन्छ। उहाँ कार्यकर्तासँग छलफलमा जुट्नुभएको छ। चुनाव लड्नुपर्छ भन्ने कार्यकर्ताको दबाब छ’ भट्टले हिमालप्रेससँग भने।
प्रलोपाबाट उक्त क्षेत्रको उम्मेदवार बन्ने चर्चामा रहेका बाबुराम श्रेष्ठले पनि डा.भट्टराईलाई चुनावी अभियानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। ‘डा.भट्टराई नलडे म उम्मेदवार बन्छु, मेरो पहिलो प्राथमिकता उहाँ नै हो भन्ने उहाँको भनाइ छ,’ भट्टले भने।
डा.भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट यसअघि तीन पटक प्रत्यक्ष निर्वाचन जितिसकेका नेता हुन्। तर पछिल्ला वर्षहरूमा उनले सार्वजनिक भाषण तथा सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा आफू पुनः निर्वाचन नलड्ने धारणा राख्दै आएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत उनले उम्मेदवारी दिएका थिएनन्।
युवापुस्ताले नेतृत्व लिनुपर्ने भन्दै आफूले बाटो खुला गरिदिन चाहेको डा. भट्टराईको भनाइ रहँदै आएको छ। यद्यपि गोरखाको विकास र राजनीतिक परिवर्तनमा उनको भूमिका अग्रणी मानिँदै आएको छ, जसका कारण स्थानीयस्तरमा पुनः उनलाई नै चुनावी मैदानमा देख्न चाहनेहरूको संख्या ठूलो रहेको नेताहरू बताउँछन्।



