काठमाडौँ- यस वर्षको दसैँ तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको छ। फिल्म ‘जेरी अन टप’ र ‘परान’ बाहेक अन्य फिल्मले सोचेअनुरूप दर्शकको मन जित्न सकेनन्।
प्रचारमा व्यापकता देखाए पनि हलमा लागेपछि ‘अभिमन्युः च्याप्टर १’, ‘पीआर’, ‘झरी पछिको इन्द्रेणी’, ‘एक्लो’जस्ता फिल्म दर्शककाे नजरमा पर्न सकेन। अपेक्षा गरिएकाे फिल्म दर्शककाे रुचिमा नपर्नु निराशाजनक भएको फिल्म समीक्षकहरू बताउँछन्। यद्यपि हलमा भने प्रत्येक साता नयाँ फिल्म प्रदर्शन भइरहेकै छ।
यसैबीच माघ महिनाभर ९ फिल्मले प्रदर्शन मिति तोकेका छन्। फिल्म निर्माण टिमले राम्रै प्रचार गरिरहेका छन्। युट्युबमा सार्वजनिक ती फिल्मको टिजर, ट्रेलर र गीतले दर्शकको मन जितेको छ तर हलमा भने कस्तो व्यापार गर्ने हो त्यो प्रदर्शनपछि मात्रै थाहा हुनेछ।
माघमा पर्ने पर्वविशेष बिदाको मौका छोपेर निर्माण टिमले दुईभन्दा बढी फिल्म एकैदिन जुधााएका छन्। माघे संक्रान्तिको अवसरमा माघ १ गते हलमा तीन फिल्म भिड्दैछन्। ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’। तीनवटै फिल्म सामाजिक कथामा बनेको छ तर फिल्मको जनरा भने फरकफरक देखिन्छ।
‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’
‘गोबर गणेश’ मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को डेब्यु निर्देशनमा बनेको फिल्म हो। टेलिफिल्म निर्देशनमा रमाइरहेका बल्छी धुर्बे यही फिल्मबाट ठूलो पर्दामा होमिएका छन्।
फिल्मको निर्देशनमात्र नभएर मुख्य भूमिका पनि उनले नै निभाएका छन्। प्रचार सामग्रीअनुसार फिल्मको कथा निम्नवर्गीय परिवारमा जन्मेका एक युवकको सहरको संघर्ष र उतारचढावसँग सम्बन्धित छ।
फिल्ममा आमालाई खुसी पार्न सहर छिरेको एक छोराको संघर्ष प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ। फिल्ममा मरिचमानसहित वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, बुद्धि तामाङ, निर्मल शर्मा, पदम तामाङलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म ‘भाइरल गोर्खे’ निगम श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्मको कथा सामाजिक सञ्जालमा भाइरल हुने लहडप्रति व्यंग्य गरिएको छ।
सामाजिक कथा भए पनि फिल्म कमेडी शैलीमा प्रस्तुत गरिएको टिमले जनाएको छ। फिल्मको मुख्य भूमिकामा सौगात मल्ल छन्।
सौगातले भाइरल हुन केके गर्छन् भन्ने फिल्ममा हेर्न पाइने टिमले बताएको छ। सौगातसँगै फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्।
यस्तै फिल्म ‘मिरमिरे’ बुबाको संघर्षमा हुर्केकी छोरीको कथा र त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। पारिवारिक तथा सामाजिक कथामा बनेको फिल्मका निर्देशक यम शेर्पा हुन्।
फिल्ममा दयाहाङ राई पिताको भूमिकामा छन् भने छोरीको भूमिकामा बाल कलाकार शाइसा गौचन छिन्। साथै फिल्ममा प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायतले अभिनय गरेका छन्।
‘परिवर्तन’ र ‘बिगुल’
माघको दोस्रो साता ९ गते फिल्म ‘परिवर्तन’ र ‘बिगुल’ एकसाथ प्रदर्शन हुँदैछ। दुवै फिल्मको कथा देशको वर्तमान राजनीतिक अवस्था र बेथिति विरुद्धको कथामा बनेको छ।
‘परिवर्तन’ एक्सन जनरामा बनेको फिल्म हो। फिल्मको मुख्य भूमिकामा अभिनेता सुशील श्रेष्ठ छन्।
यो फिल्ममा अभिनेत्री अञ्जना बराइली प्रहरीको भूमिकामा देखिने छिन्। फिल्मका निर्देशक विजय केरुङको निर्देशनमा बनेको फिल्म नेताको सत्ता मोहप्रति विद्रोहको कथा प्रस्तुत गरिएको छ।
दिव्यासी फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतको पनि अभिनय रहेको छ। दीपक शिवाकोटीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।
फिल्म ‘बिगुल’ मा पनि नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक रमेश कोइराला हुन्।
फिल्ममा बेनिशा हमाल, नरेन खड्का र विनोद न्यौपाने युवा पुस्ताको भूमिकामा देखिनेछन्। दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्ममा सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।
‘आ बाट आमा’ र ‘द ब्लु लाइट’
माघको तेस्रो साता अर्थात् १६ गते पनि दुई फिल्मबीच प्रतिस्पर्धा हुँदैछ। फिल्म ‘आ बाट आमा’ र ‘द ब्लु लाइट’।
चन्द्र पन्त निर्देशित फिल्म हो, ‘आ बाट आमा’। फिल्म वैदेशिक रोजगारीमा जान तयार एक छोरा र बाबुआमाको कथा प्रस्तुत गरिएको टिमले जनाएको छ।
फिल्ममा अभिनेता पल शाह छोराको भूमिकामा छन्। उनको बुबाको भूमिकामा बलिउडका चर्चित कलाकार प्रदीप रावत र विपना थापा आमा बनेका छन्। साथै अन्य कलाकारमा उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत देखिनेछन्।
माघ १६ मै प्रदर्शन हुने भनिएको अर्को फिल्म हो, ‘द ब्लु लाइट’। यो फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको टिमको दाबी छ।
फिल्म बलिराम चौहानको निर्देशनमा बनेको हो। उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्ममा बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माले लगायत कलाकारले अभिनय गरेका छन्।
‘कुमारी’ र ‘रमिताको पिरती’
माघको अन्तिम शुक्रबार अर्थात् २३ गते ‘कुमारी’ र ‘रमिताको पिरती’ फिल्मले प्रदर्शन मिति तोकेका छन्। दुवै फिल्म प्रेम कथामा बनेको छ।
‘कुमारी’ दिनेश राउतको निर्देशनमा बनेको फिल्म हो। फिल्मको मुख्य भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन्। यो उनीहरूको डेब्यू फिल्म हो।
अन्य कलाकारमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, भूपी लुहारलगायत छन्। फिल्मको पटकथा विकास सुवेदीले लेखेका हुन्।
फिल्ममा समावेश ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ बोलको गीत निकै चर्चित बनेको छ।
अर्को प्रेम कथामा बनेको फिल्म ‘रमिताको पिरती’ सुदिप्ताले निर्देशन गरेकी हुन्। उनकै लेखन रहेको फिल्ममा आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, गायक समीर श्रेष्ठलगायतले अभिनय गरेका छन्।




