निर्वाचनको मिति घोषणापछि विधि र प्रविधि बदल्न सकिँदैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

हिमाल प्रेस २९ पुष २०८२ २०:५८
32
SHARES
निर्वाचनको मिति घोषणापछि विधि र प्रविधि बदल्न सकिँदैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि निर्वाचनको विधि र प्रविधि परिवर्तन गर्न नसकिने स्पष्ट पारेका छन्। मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन घोषणापछि विधि बदल्न अन्तर्राष्ट्रिय निर्वाचन कानुनको मान्यताअनुसार नमिल्ने बताएका हुन्।

निर्वाचनको प्रक्रियामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मान्यता नदिएमा वा दबाबमा भएको निर्वाचन भनिदिएमा निर्वाचनको निष्ठा र प्रतिफलमाथि विश्वस्तरमा प्रश्न उठ्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा भण्डारीले यस पटकको निर्वाचन पूर्णतः मुलुककै आन्तरिक स्रोत र शक्तिबाट सञ्चालन हुन लागेको जानकारी दिए। कुनै पनि वैदेशिक सहायता बिना नै सरकारको साधन र शक्ति प्रयोग गरेर निर्वाचन गराउन लागिएको भन्दै उनले कर्मचारीहरूको खाइपाइ आएको सुविधा कटौती नगरिने स्पष्ट पारे। यद्यपि वैदेशिक सहायताबाट प्राप्त हुने सवारीसाधनहरू प्राप्त हुनासाथ आवश्यक स्थानमा पुर्‍याइने उनले बताए।

विगतमा कोष तथा लेखा नियन्त्रण अधिकारीलाई सूक्ष्म अनुगमन अधिकारीका रूपमा खटाउँदा प्रभावकारी कार्य सम्पादन हुन नसकेको स्वीकार गर्दै उनले यस पटकको अभिमुखीकरणले त्यस्ता समस्या पहिचान र समाधान गर्ने विश्वास व्यक्त गरे।

निर्वाचन कार्यालयहरू सदरमुकाममै राख्नुपर्ने बाध्यताबारे प्रष्ट पार्दै भण्डारीले शान्ति सुरक्षाको दृष्टिकोणले सबै क्षेत्रमा कार्यालय लैजान सकिने अवस्था नरहेको र सरकारसँगको समन्वयमा सदरमुकाममै कार्यालय राख्ने निर्णय भएको जानकारी दिए।

निर्वाचनको समयमा मिथ्या सूचना (मिस इन्फर्मेसन), गलत सूचना (डिसइन्फर्मेसन) र घृणास्पद अभिव्यक्ति (हेट स्पिच) जल्दोबल्दो समस्याका रूपमा रहेको भन्दै आयोग यसप्रति सचेत रहेको उनले बताए। यसलाई नियन्त्रण गर्न आयोगले विज्ञहरू र अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल सञ्चालक संस्थाहरूसँग छलफल गरिरहेको उनको भनाइ थियो। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनका क्रममा कुनै पनि दलले अर्को दललाई निषेधको भावनाले हेरेमा तत् क्षण नै नियन्त्रण गर्न निर्वाचन अधिकारीहरूलाई निर्देशनसमेत दिए।

प्रकाशित: २९ पुष २०८२ २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast