जसपा नेपाल र लोसपाबीच एकता, महन्थ ठाकुर संरक्षक

हिमाल प्रेस २७ पुष २०८२ १६:४९ | Sunday, January 11, 2026
58
SHARES
जसपा नेपाल र लोसपाबीच एकता, महन्थ ठाकुर संरक्षक फाइल तस्बिर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच औपचारिक रूपमा एकताको घोषणा भएको छ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको हात्तीवनस्थित निवासमा बसेको बैठकमा दुवै दलले १२ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेको हो। यसअघि दुवै दलबीच एकीकरण गर्ने निर्णय भएको थियो। सम्झौतापत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार पार्टीको नाम जसपा नेपाल नै रहने भएको छ। एकीकृत पार्टीमा ठाकुर संरक्षक र यादव अध्यक्ष रहने भएका छन्।

त्यस्तै पार्टीको चुनाव चिह्न छाता रहने भएको छ। यसअघि यो चुनाव चिह्न जसपा नेपालले प्रयोग गर्दै आएको थियो भने लोसपाको चुनाव चिह्न साइकल रहेको थियो।

जनता समाजवादी पार्टी नेपाल एकीकृत रूपमा सञ्चालन गर्न ४३ सदस्यीय केन्द्रीय समन्वय समिति रहने र केन्द्रीय समन्वय समितिले आफूमध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने दुवै दलबीच सम्झौता भएको छ।

दुवै दल मातहतका सबै तह र निकायका संगठन, भातृ संगठन, शुभेच्छुक संगठन, विभाग, संयन्त्रसमेत जनता समाजवादी पार्टी नेपालको मातहतमा रही केन्द्रीय समन्वय समितिको निर्णयअनुसार कार्य गर्नेछ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवारका लागि पेस गरिने मनोयनपत्रमा समन्वय समितिबाट हुने निर्णयअनुसार महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपले हस्ताक्षर गर्ने सहमति भएको छ।त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट जसपा नेपालका तर्फबाट परेका उम्मेदवारी निस्क्रिय पार्ने सहमति भएको छ। जसपा नेपालले राष्ट्रियसभा निर्वाचनका लागि महिला, अपाङ्ता/अल्पसंख्यक र दलित समूहबाट उम्मेदवारी दर्ता गरेको थियो।

त्यस्तै केन्द्रीय समन्वय समितिका निर्णयहरू पार्टीका संरक्षक र अध्यक्षले प्रमाणिग गर्ने सहमति जुटेको छ।

 

प्रकाशित: २७ पुष २०८२ १६:४९ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast